हेटौंडाः हेटौंडा कला–साहित्य महोत्सव–२०७९ सुरु भएको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसनको आयोजनामा शुक्रबार र शनिबार दुई दिन महोत्सव सन्चालन हुनेछ ।
पहिलो दिन शुक्रबार विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा २० वटा कार्यशाला सन्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको महोत्सवको पहिलो दिन मकवानपुर जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिनुभयो । महोत्सवमा चितवन, नवलपुर, बारा, रौतहट र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षकको पनि सहभागिता रहेको महोत्सवका संयोजक रिमालले जानकारी दिनुभयो । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नवोदय शिशु सदनमा शैक्षिक संंयोजक दिपेश जोशीले जानकारी दिनुभयो ।

पहिलो दिन विद्यार्थीका लागि लघु कथा, कविता, गजल, मुक्तक, गीत लेखनसम्बन्धी कार्यशालाको आयोजना गरिएको थियो भने डिजाइन च्यालेन्ज, पपेटको प्रयोग गरी कथा प्रस्तुती कलासम्बन्धी कार्यशाला भएको छ । यस्तै अभिभावकका लागि असल अभिभावकत्वका विषयमा कार्यशालाको आयोजना गरिएको थियो भने शिक्षकका लागि कथा लेखन, पुस्तक छनोट र तुलनात्मक विश्लेषण गर्ने, साहित्यमा प्रविधिको प्रयोगका विषयमा कार्यशालाको आयोजना गरिएको थियो । कार्यशालाका सहजकर्ता अधिकांश जिल्लामै उपलब्ध जनशक्ति थिए भने केही सहजकर्ता काठमाडौंबाट आएका थिए ।
शुक्रबार साँझ हेटौंडाको होटल एभोकाडोमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका संयोजक ललित घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित नाटककार अशेष मल्ल, कलाकार यमन श्रेष्ठ, भारतीय लेखक समिना मिश्र र पाकिस्तानी लेखक रुमना खातुनको पनि उपस्थितिमा महोत्सवको विषयमा सामाजिक सन्ध्याको आयोजना गरिएको थियो ।
सरोकारवालाबीच परिचय स्थापित गराउने उद्देश्यले आयोेजित सभालाई सम्बोधन गर्नुहुँदै जिसस प्रमुख घलानले आगामी दिनमा जिससले महोत्सवमा सहकार्य गर्ने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडा कला–साहित्य महोत्सवले हेटौंडालाई भारत र पाकिस्तानमा पनि चिनाउने अवसर भएको बताउनुभयो । महोत्सव हेटौंडाको सम्पत्ति समेत बनेको नगर प्रमुख लामाको भनाइ थियो ।

भारतीय लेखक समिना मिश्राले महोत्सवमा सहभागी हुँदै गर्दा आफूले पनि केही सिक्ने अवसर हुने बताउनुभयो । पाकिस्तानी लेखक रुमना खातुनले हेटौंडाको नगर प्रमुख महिला भएको थाहा पाउँदा खुसी लागेको उल्लेख गर्नुहुँदै दक्षिण एसियामा महिलाको अग्रसरताबाट पश्चिमा मुलुकले पनि सिक्ने अवसर रहेको बताउनुभयो । आफू सिकाउन भन्दा पनि सिक्न सिकाउन महोत्सवमा सहभागी हुन लागेको उहाँले स्पष्ट पार्नुभयो । नाटककार अशेष मल्लले महोत्सवमा साहित्यमा कलालाई जोड्नु सराहनीय भएको बताउनुभयो । कार्यक्रममा नवोदय शिशु सदन मावि व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले बालबालिकालाई साहित्यसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । महोत्सवमा आज शनिबार पनि विविध विषयमा कार्यशालाका साथै अन्तरक्रिया हुनेछ ।