हेटौंडामा माघ २७ र २८ गते हेटौंडा बाल कला–साहित्य महोत्सव–२०७९ आयोजना हुँदैछ । अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई साहित्य र कलाको क्षेत्रमा जोड्ने उद्देश्यले नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसन्सले महोत्सवको आयोजना गरेको हो । तेस्रो संस्करणको महोत्सवको तयारी, आवश्यकता, विगतमा गरिएको महोत्सवको उपलब्धि लगायतका विषयमा महोत्सव आयोजक समितिका संयोजक तथा नवोदय शिशु सदनका शिक्षक सिएम रिमालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः तेश्रो संस्करणको बाल साहित्य कला महोत्सव किन र कसरी आयोजना गर्दै हुनुहुन्छ ?
रिमालः विशेषगरी कोरोनाभन्दा २ वर्ष अगाडि बाल साहित्य महोत्सव भनेर आयोजना गरेका थियौं । साहित्य र कला हाम्रो जीवनमा एकदमै महत्वपूर्ण हुन्छ भन्ने हिसाबले २०७६ सालमा बाल कला–साहित्य महोत्सव भनेर कार्यक्रमको आयोजना गरिएको हो । अघिल्लो वर्षहरुमा हामीले मकवानपुर जिल्लालाई मात्र समावेश गरेका थियौं । यो वर्ष मकवानपुर मात्र नभएर बृहत कार्यक्रम गर्ने योजनामा छौं । यो वर्ष छिमेकी जिल्ला, छिमेकी प्रदेशबाट केही विद्यार्थी, जिम्मेवार व्यक्तिहरु, नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने प्रधानाध्यापक, शिक्षक, अभिभावकहरुलाई शिक्षामा कला र साहित्य कसरी मिसाउन सकिन्छ ? हाम्रो जीवनमा कला र साहित्य कति महत्वपूर्ण हुन्छ ? भनेर कार्यशालाको माध्यमबाट फरक तरिकाले कार्यक्रम गर्ने सोच बनाएका छौं ।
समाजः महोत्सवमा विद्यार्थी अथवा अरु सरोकारवालाको सहभागिता कस्तो रहन्छ ? अरु के–के गरिन्छ ?
रिमालः हामीले माघ २७ र २८ गते दुई दिन कार्यक्रमको आयोजना गरेका छौं । कला र साहित्यलाई माया गर्ने विभिन्न संघ संस्थाहरुसँगको छलफलमा सबैले सहयोग गर्ने प्रतिबद्धता भयो । पहिलो दिन २७ गते चै साहित्यका विभिन्न विधाका १२ वटा कार्यशालाहरु हुनेछन् । हामीले एउटा विद्यालयबाट २० जना विद्यार्थी र ५ जना शिक्षक भनेर चिठी नै पठाएका छौं । महोत्सवमा फरक–फरक विषयका कार्यशाला हुनेछ । अवसर सबैलाई दिनुपर्छ भनेर हामीले १० बजेदेखि १२ बजेसम्म १२ वटा कार्यशाला आयोजना गरेका छौं । एउटा कार्यशालामा २५ जनाभन्दा नराख्ने भनेका छौं । कार्यक्रमभन्दा अगाडि नै रजिष्ट्रेशन गरिसक्नु पर्नेछ । महोत्सवमा आयोजना गरिएको कार्यशाला ११ वटा विद्यार्थीका लागि छ भने एउटा अभिभावकका लागि छन् । २७ गते दुईवटा कार्यशाला काठमाडौंको शिक्षकहरुले दिनु हुन्छ भने अरु १० वटा मकवानपुरे साहित्यकारहरुले दिनु हुन्छ । जसमा विद्यार्थी, शिक्षक, अभिभावकलाई छुट्टा छुट्टै छ ।
समाजः १२ वटा कार्यशाला एकै दिन हुन्छ ? एउटा विद्यार्थीले एउटाभन्दा बढी कार्यशालामा सहभागिता जनाउन पाउँदैन ?
रिमालः कला–साहित्य महोत्सवमा १२ वटा कार्यशाला एकै दिन हुन्छ । फरक–फरक कक्षा कोठामा हुन्छ । फरक–फरक प्रशिक्षक रहनु हुन्छ । विद्यार्थी पनि फरक–फरक हुन्छन् । एउटा विद्यार्थीले एउटाभन्दा बढी कार्यशालामा सहभागिता जनाउन पाउँदैनन् । हामीसँग सीमित सिटहरु छन् । हामीले एउटा कक्षामा २५ जनासम्म मात्र राख्छौं । अवसर सबैले पाउनु पर्छ । यस विषयमा हामीले विद्यालयहरुलाई चिठी पठाउँदा नै विस्तृत जानकारी गराएका छौं ।
समाजः कार्यक्रममा सहभागिता जनाउन विद्यार्थीले के–के गर्नु पर्छ ? विद्यार्थीलाई कार्यक्रमको विषयमा कत्तिको जानकारी छ ?
रिमालः कार्यक्रममा सहभागिता जनाउन विद्यार्थीले केहि गर्नु पर्दैन । विद्यार्थीले विद्यालयको माध्यमबाट आफ्नो नाम पठाएर खाली हात आए हुन्छ । कार्यक्रमको विषयमा हामीले विद्यालयको भाषाका शिक्षकहरुलाई जानकारी गराएका छौं । २८ गते विद्यार्थीहरुलाई विषयसहित बहस गर्दैछौं । ४ वटा बहसमा १६ वटा विद्यालयहरुले भाग लिन्छन् । हामीले विद्यालयमा चिठी बाँडिरहँदा सम्बन्धित व्यक्ति जो भाषा र साहित्यकार शिक्षक हुनुहुन्छ वा प्रधानाध्यापक हुनुहुन्छ उहाँहरुलाई हामीले स्पष्ट भनेका छौं । कार्यशालाको विषयमा सबैलाई जानकारी छ । बहसको लागि के–के विषयमा तयारी गर्ने हामीले विद्यार्थीलाई जानकारी गराएका छौं । पूर्व तयारी गराउने विषयमा हामीले विद्यालयहरुसँग सम्पर्क गरिरहेका छौं । विद्यालयका भाषागत शिक्षकहरुसँग पनि समन्वय भइरहेको छ । उहाँहरुलाई आफ्नो विद्यालयका सहभागिता गराउन अनुरोध गरेका छौं ।
समाजः यो दुई दिनको कार्यक्रममा कति विद्यालयका कति विद्यार्थी, कति शिक्षक सहभागी हुने देखिएको छ ?
रिमालः २७ गते चै १२ वटा कार्यशाला छ । ११ वटा शिक्षक र विद्यार्थीका लागि छ भने एउटा चै अभिभावकका लागि छ । एउटा कार्यशालामा २५ जनाको सिट रहेको छ । एउटा विद्यालयबाट ५ जना शिक्षक पठाउन भनिएको छ । यसरी हेर्दा लगभग ४ सय जनाभन्दा बढी हामीले अनुमान गरेका छैनौं । अरु आउनु हुन्छ भने उहाँहरुले हेर्नु हुन्छ । महोत्सवमा विभिन्न स्टल पनि हुन्छ ।
समाजः कार्यशाला बाहेक अरु के हुन्छ, कस्तो खालको स्टल हुन्छ ?
रिमालः २७ गते १२ वटा कार्यशाला मात्रै हुन्छ । कार्यशाला बाहेक अरु कार्यक्रम हामीले राखेका छैनौं । तर विद्यार्थीको सिर्जना वाचन चै त्यहाँ हुनेछ । २८ गते ९ बजेदेखि रजिष्ट्रेशन सुरु हुन्छ । १० बजेबाट औपचारिक कार्यक्रम सुरु हुन्छ । मकवानपुरसँगै बाहिरी जिल्ला, पाकिस्तानी लेखक रुमना हुसेन र भारतका साहित्यकार, लेखकहरु प्नि आउनुहुन्छ । काठमाडौंबाट मदन कृष्ण श्रेष्ठ पनि आउनु हुन्छ । अर्काे भनेको हामीसँग खानाको स्टल पनि हुन्छ । स्टल विद्यार्थीहरुले नै राख्छन् । जसमा नेवारी, बाहुन÷क्षेत्री, तामाङ सामुदायको विभिन्न सामुदायको चिनारी हुनेगरी खानाको स्टल हुनेछ । यस्तै, पुस्तक प्रदर्शनी अथवा पुस्तक मेला हुन्छ । स्टेज प्रोग्राममा पञ्चे बाजा, लाखे नाच, नेवारी धिमे बाजा, खैजडी बाजा समेत रहेको छ । कार्यक्रममा फरक तरिकाबाट कला र संस्कृतिलाई समेट्न खोजिएको छ ।
समाजः बुक साइनिङको अभ्यास कस्तो हो ?
रिमालः लेखक कस्तो हुन्छ ? भनेर जानकारी हुन्छ । लेखकलाई प्रत्यक्ष भेटेपछि अन्तरक्रियाको अवसर पनि हुन्छ । विद्यार्थीहरुलाई लेखकबाट प्रेरित हुने अवसर हुन्छ । लेखक र पाठक बीचको सम्बन्धलाई सुमधुर बनाउँछ भनेर यो अभ्यास गरिएको हो । यो एउटा सकारात्मक प्रयास पनि हो । युवा वर्गमा जोश, जाँगर, उमङ्ग पाइन्छ । लेखकलाई प्रत्यक्ष भेटेपछि फरक सोच, फरक विचार गर्न सक्ने हुन्छन् कि भन्ने लागेर बुक साईनिङ अभ्यास गरिएको हो ।
समाजः यो कार्यक्रमको अनुमानित बजेट कति हो ? बजेटको स्रोत कसरी जुटाउनु भएको छ ?
रिमालः हामीले अघिल्लो कार्यक्रमहरुमा पनि कुनै पनि शुल्क लिएका थिएनौं । अहिले पनि हामी शुल्क लिँदैनौं । अघिल्लो कार्यक्रममा ११ लाख रुपैयाँ बजेट लागेको थियो । अहिले महंगी बढेको छ । बजेट अझ बढ्छ भन्ने लागेको छ । हाम्रो सहयोग भनेको नवोदय शिशु सदन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, काठमाडौं पब्लिकेशन हो । हामीले कार्यक्रमको बारेमा जानकारी गराएर हेटौंडा उपमहानगरपालिकासँग पनि बजेट माग गरेका छौं । हेटौंडा उपमहानरगपालिका पनि एकदमै सकारात्मक भएको छ । हामीले साथ र सहयोग प्राप्त गरेका छौं ।
समाजः पहिलो र दोस्रो महोत्सवको उपलब्धी र सिकाई कस्तो रहयो ?
रिमालः हाम्रै विद्यालयको मूल्यांकन गर्दा विद्यार्थी र शिक्षकहरुमा सोच्ने, विचार गर्ने धारणामा परिवर्तन पायौं । विषयवस्तु भन्दा बाहिरको पुस्तकहरु पनि पढ्नु पर्छ भन्ने धारणा विकास भएको पायौं । विद्यालयको लाइबेरीमा विद्यार्थीको उपस्थिति बढेको थियो । बालबालिकाको अभिभावकसँगको अन्तरक्रिया बढी हुने गरेको पाएका छौं ।
