Home मुख्य समाचार सन्दुक रुइतको नेतृत्वमा ३१० जनाको मोतिविन्दुको शल्यक्रिया

सन्दुक रुइतको नेतृत्वमा ३१० जनाको मोतिविन्दुको शल्यक्रिया

मोतिविन्दुको शल्यक्रियापछि आँखाको पट्टी निकाल्ने तयारी अवस्थामा हेटौँडा सामुदायिक आँखा अस्पताल परिसरमा राखिएका बिरामीहरु । फाइल तस्वीर ।

हेटौंडाः ख्यातीप्राप्त नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा हेटौंडा सामुदायिक आँखा अस्पतालमा तीन सय १० जनाको मोतिबिन्दुको शल्यक्रिया भएको छ । मकवानपुरसहित ४ जिल्लाका ८ स्थानमा आयोजना गरिएको शिविरमा दुई हजार तीन सय ५७ जनाको आँखा परीक्षण गर्दा तीन सय ३५ जनामा मोतिविन्दुको समस्या देखिएको थियो । मोतिविन्दुको समस्या पहिचान भएकामध्ये तीन सय १० जनाको तीन दिन लगाएर मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

बिहीबार, शुक्रबार र शनिबार तीन दिनमा डा. रुइतको नेतृत्वमा डा. सुनिल थकाली, डा. श्याम व्यास र डा. एलिना गौचनले मोतिबिन्दुको शल्यक्रिया गरिएको हेटौंडा आँखा अस्पतालले जनाएको छ । मोतिविन्दुका विरामीको आँखाको शल्यक्रिया गर्नका लागि गत बुधबार डा. रुइत हेटौंडा आउनुभएको थियो । शल्यक्रिया सकाएर डा. रुइत आइतबार बिहान काठमाडौं फर्कनुभएको छ ।

शल्यक्रिया गरिएको सबैजना आइतबार घर फर्किएका छन् । तेज कोहली एण्ड रुइत फाउण्डेशनको सहयोग, हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक समूहको नेतृत्व तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको सहजीकरणमा मकवानपुर, बारा, पर्सा र सर्लाहीमा आयोजना गरिएको शिविरमा पहिचान भएका मोतिबिन्दुका विरामीको शल्यक्रिया गरिएको हो । मोतिविन्दु पहिचान भएका मध्ये केहीको स्वास्थ्यका कारण शल्यक्रिया गर्न सम्भव नभएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबारदेखि शनिबारसम्ममा ४ जिल्लाका ८ स्थानमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । बारा जिल्लाको महेशपुरमा तीन सय ७१ जनाको आँखा परीक्षण गर्दा मोतिविन्दु भएका ९२ जना पहिचान भएका थिए । सर्लाहीको हरिवनमा तीन सय ३६ जनाको आँखा परीक्षण गर्दा मोतिविन्दु भएका ३६ जना पहिचान भएका थिए । मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा भएको शिविरमा दुई सय ११ जनाको आँखा परीक्षण गर्दा मोतिविन्दु भएको २३ जना पहिचान भएका थिए । बारा जिल्लाको भोडाहामा दुई सय ८१ जनाको आँखा परीक्षण गर्दा ७२ जना मोतिविन्दुका विरामी भेटिएका थिए भने बाराकै इनरुवामा भएको शिविरमा २८६ जनाको आँखा परीक्षण गर्दा ५० जनामा मोतिविन्दु पहिचान भएको थियो ।

यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक सय ११ जनाको आँखा परीक्षण गर्दा ५ जनामा मोतिविन्दु पहिचान भएको थियो । हेटौंडाको बसामाडी गुम्बामा भएको शिविरमा पाँच सय ६१ जनाको आँखा परीक्षण गर्दा ४५ जनामा मोतिविन्दु पहिचान भएको थियो । यस्तै पर्सा जिल्लाको बदमनगरमा भएको शिविरमा दुई सय जनाको आँखा परीक्षण गर्दा ३२ जनामा मोतिविन्दु पहिचान भएको थियो ।

Exit mobile version