बिहिबार कृषि सामग्री संस्थान हेटौंडाले वितरण गरेको मलको विवरण ।

हेटौंडाः कृषि सामग्री संस्थान हेटौंडाले आज बिहिबार एक हजार सात सय ९१ बोरा (साढे ८९ टन) रासायनिक मल विक्री गरेको छ । जिल्लाका ३४ वटा सहकारी संस्थालाई सरकारले उपलब्ध गराएको अनुदानको युरिया, डीएपी र पोटास मल विक्री गरेको हो । संस्थानको हेटौंडा–२, सिद्धार्थपथस्थित गोदामबाट मल विक्री गरिएको थियो । कृषि सामग्री संस्थानले सहकारीको मागअनुसार युरिया मल विक्री गर्न सकेको छैन ।

संस्थानको गोदाममा रहेको ५६ टन युरिया मल मध्ये बिहिबार ३४ टन विक्री गरेको छ । सहकारीको मागअनुसार विक्री गर्न पर्याप्त युरिया मल नभएका कारण संस्थानले हरेक सहकारीलाई एक टनका दरले युरिया मल वितरण गरेको छ । डीएपी र पोटास भने मागअनुसार नै वितरण गरिएको कृषि सामग्री संस्थान हेटौंडाका स्टोर प्रमुख छवि शर्माले जानकारी दिनुभयो । संस्थानको गोदाममा अब युरिया मल २२ टन बाँकी छ । संस्थानले बीरगन्जस्थित कार्यालयलाई माग गरे पनि मल नपठाएका कारण पर्याप्त मल वितरण गर्न नपाएको शर्माको भनाइ छ । आइतबार बाँकी रहेको मल विक्री गरिने उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङले भोलि मल वितरण गर्ने

हेटौंडाः साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडाले भोलि शुक्रबार अनुदानको रासायनिक मल वितरण गर्ने भएको छ । बीरगन्जबाट आएको एक गाडी मल भोलि विक्री गर्न लागेको साल्ट ट्रेडिङ हेटौंडाका शिव श्रेष्ठले जानकारी दिनुभयो । यसअघि साल्ट ट्रेडिङले मंगलबार ८ सय ४० बोरा युरिया मल विक्री गरेको थियो ।