Home मुख्य समाचार वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन

हेटौंडाः बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । सामाजिक विकास मन्त्रालयले आज प्रदेशका सबै स्थानीय तह र विद्यालयहरूको नाममा सूचना जारी गर्दै रोकिएको नतिजा तत्काल प्रकाशन गर्न आग्रह गरेको हो । नतिजा प्रकाशनपछि बन्दाबन्दीको समयमा सामाजिक दुरी कायम गरी भर्नाको व्यवस्था गर्न पनि भनिएको छ ।

नतिजा प्रकाशन पश्चात उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न पनि विद्यालयलाई आग्रह गरिएको छ । नतिजा प्रकाशनपश्चात विद्यालयले विद्यार्थीलाई पनि यथासम्भव पाठ्यपुस्तक वितरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन मन्त्रालयले सहयोग गर्ने उल्लेख गरिएको छ । बन्दाबन्दीको समयमा विद्यार्थीलाई सूचनाप्रविधिका माध्यमबाट घरमै पढ्ने व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ ।

प्रदेश सरकारले वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न भने पनि कतिपय विद्यालयमा वार्षिक परीक्षा पूरा हुन सकेको छैन । यस्तो अवस्थामा यसअघि प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गरी नतिजा प्रकाशन गर्न सकिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता समेत रहनुभएका शिक्षा महाशाखाका प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिनुभएको छ ।

Exit mobile version