हेटौंडाः बागमती प्रदेशमा अब ११ मन्त्रालय हुने भएको छ । मंगलबार बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन बनेको कार्यदलले बुझाएको प्रतिवेदन बुझ्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रालयको संख्या ११ वटा कायम हुने बताउनुभएको हो ।
गत पुस २६ गते मुख्यमन्त्रीको सपथ ग्रहण गर्नुभएपछि जमकट्टेलले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन कार्यदल गठन गर्नुभएको थियो । बागमती प्रदेशमा ७ मन्त्रालयबाट १४ पुर्याउँदा आफु ११ मन्त्रालय बनाउनुपर्छ भन्ने पक्षमा रहको उहाँको दाबी छ । मन्त्रालयको संख्या बढ्दा र राज्यमन्त्री राख्दा आलोचना हुने काम भएकोले अब राज्यमन्त्री नराख्ने उहाँले बताउनुभयो । उहाँले मन्त्रीपरिषद्ले चाँडै पुर्णता पाउने बताउनुभयो ।
मन्त्रालयको संंख्या घटाउन दिएको प्रतिवेदन कुरेको र अब बाटो खुलेको उहाँले बताउनुभयो । दलहरुबिच मन्त्रालय बाँडफाँड छिट्टै टुङ्गो लाग्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन ५ सदस्यीय कार्यदल गठन भएको थियो ।
