Home मुख्य समाचार सार्वजनिक बिदाले अस्पातालमा बिरामीको चाप

सार्वजनिक बिदाले अस्पातालमा बिरामीको चाप

हेटौंडाः शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुँदा हेटौंडा अस्पतालमा बिरामीको चाप बढेको छ । सोमबार दिउँसो २ बजेसम्म ९ सय ६४ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

सोमबार हेटौंडा अस्पतालमा उपचार गर्नेहरुको संख्या झण्डै दोब्बरले बढेको हेटौंडा अस्पतालले जनाएको छ । अर्थोपेडिक विभागमा १ सय ४३ जनाले सेवा लिएका छन् । प्रसुतिमा १ सय ८ जना, बाल रोगमा ६९ जना र जेनरल मेडिसियनमा ३ सय २३ जना बिरामीले स्वास्थ्य परीक्षण गराएको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो । उहाँका अनुसार अरु समयभन्दा सोमबार बिरामीको संख्या धेरै रहेको छ ।

दैनिक हेटौंडा अस्पतालमा ४/५ सय बिरामीले उपचार गराउँदै आएका छन् । बिरामीको संख्या धेरै हुँदा सेवा लिन आएका सेवाग्राहीलाई समस्या हुने गरेको उहाँले बताउनुभयो । शनिबार एक दिनमात्रै बिदा हुँदा पनि आइतबार अस्पतालमा बिरामी संख्या बढी हुने गरेको उहाँले बताउनुभयो । चिसो मौसमका कारण दैनिक बिरामीको संख्या बढ्ने भएकाले २ दिन अस्पतालको इमर्जेन्सी सेवाबाहेकका सबै उपचार सेवा बन्द हुँदा बिरामीको संख्या बढ्नु सामान्य रहेको उहाँले बताउनुभयो ।

Exit mobile version