फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको छनौट प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकामा माघ १० गतेभित्र पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न गर्न सूचित गरेको भए पनि बकैयाले केही ढिला छनौट प्रतियोगिता गर्न लागेको हो ।

बकैयास्तरीय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता आगामी शुक्रबारदेखि हुन लागेको बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बिजय लामा थिङले जानकारी दिनुभयो । बकैयास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता–२०७९ सम्पन्न गर्न बकैयाका ११ वटै वडाका विद्यालयहरुमा सूचना पुगिसकेको थिङले बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिन उद्घाटनका साथै एथ्लेटिक्स, कराँते, भलिबल र दोस्रो दिन शनिबार कबड्डी, उसुलगायत अन्य खेलहरु हुने थिङले जानकारी गराउनुभयो । यसका लागि विभिन्न खेलका खेल संयोजक चयन गरी जिम्मेवारी बाँडफाँड भइरहेको उहाँले बताउनुभयो ।

छनौट प्रतियोगिताको उद्घाटन समारोह बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बिजय लामा थिङको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा सञ्चालन हुनेछ ।