बारा प्रहरीले पक्राउ गरेका फरार प्रतिवादीहरु ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले एकैदिन तीन सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट फैसला कार्यान्वयनका लागि प्राप्त फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उद्देश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विभिन्न मुद्दाका तीन सय ३२ जना फरार प्रतिवादीहरूलाई सोमबार एकैदिन जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी बारा प्रहरीले बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाएको छ ।

अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ का विजय दास, बैकिङ्ग कसूर मुद्दामा सात लाख रुपैयाँ जरिवाना सजाय तोकिएका बारा जिल्लाको पचरौता नगरपालिका–२ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकिएका बारा जिल्लाको निजगढ नगरपालिका–१ बस्ने बासु चौधरी लगायत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यान्वयनलाई अभियानको रूपमा संचालन गरेको दावी गरेको छ । साथै यस्तो कारवाहीलाई आगामी दिनमा समेत निरन्तरता दिइने बारा प्रहरीले स्पष्ट पारेको छ ।