उपाधिसाथ भुटनिज स्पोर्ट्स क्लब अमेरिकाको टिम ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा आयोजित पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकाले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सडनडेथमा संकटालाई ८–७ गोलअन्तरले भुजनिजले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । निर्धारित समय २–२ गोलको बराबरीमा खेल सकिएपछि नतिजाका लागि पेनाल्टी प्रहार गरिएको थियो । पेनाल्टीमा पनि ५–५ को बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

सडन डेथमा भुटनिज युथका क्याप्टेन समेत रहेका गोलरक्षक पुजन थापा मगरले संकटा क्लबका सुरज ज्यु ठकुरीको प्रहार रोकेका थिए । सडन डेथमा पुजन थापा आफैंले पेनाल्टी प्रहार गर्दै विजयी गोल गरे । यसअघि निर्धारित समयको पहिलो हाफमै २–२ गोलको बराबरी भएको हो । बागमती–८, फापरबारीस्थित जनता माविको खेल मैदानमा फाइनल खेल सुरु भएको पहिलो मिनेटमै भुटनिजले अग्रता लिएको थियो । भुटनिजका प्रविण बस्नेतले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती अग्रता बनाएको भुटनिजका लागि प्रविणले नै दोस्रो गोल छैठौं मिनेटमै गरे ।

२–० ले पछि परेको स्थितिमा संकटाका लागि सुनिल बलले नवौं र २२ औं मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका थिए । जितसँगै भुटनिजले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको संकटाले नगद ४ लाख रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ म्याच भुटनिजका गोलरक्षक तथा कप्तान पुजन थापा मगर घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संकटाका सुरज ज्यु ठकुरी घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै संकटाका कुलदीप कार्की उत्कृष्ट डिफेन्डर, संकटाकै सुनिल बल उत्कृष्ट मिडफिल्डर, भुटनिजका प्रविण बस्नेत उत्कृष्ट फरवार्ड र भुटनिजकै प्रशिक्षक प्रदीप हुमागाई उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्ट सबैले नगद १०–१० हजार रुपैयाँ प्राप्त गरे । यस्तै पत्रकार गणेश दर्पण अधिकारीलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।