हेटौंडाः मनहरी गाउँपालिका–७, प्रतापपुर क्षेत्रको जंगलमा हिजो बरामद भएको शवको आज सनाखत भएको छ । मृतक मनहरी–७ बस्ने २५ वर्षीय सुमन पाख्रिन भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । आज दिउँसो शवको सनाखत भएको हो ।
प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएका पाख्रिन अस्ति आइतबारदेखि परिवारको सम्पर्कमा थिएनन् । हिजो सोमबार दिउँसो ३ बजेको समयमा मनहरी–७ प्रतापपुरमा पर्सा राष्ट्रिय निकुन्जको भित्रि भागमा पाख्रिनको शव भेटिएको थियो । जंगली जनावरको आक्रमणमा परी पाख्रिनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आज दिउँसो सनाखत भएसँगै हेटौंडास्थित जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि पाख्रिनको मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।