हेटौंडाः हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत भैंसे–भीमफेदी सडकखण्ड दुई लेनको बन्ने भएको छ । बागमती प्रदेश सरकारले आज टेण्डरको सूचना निकालेको छ । चालु आर्थिक वर्षभित्र टेण्डरको प्रक्रिया पूरा गरेर आगामी आर्थिक वर्षबाट सडक निर्माणको कार्य सुरु गरिने बागमती प्रदेश सरकारको भौतिक विकास मन्त्रालयमातहतको सडक पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो । निर्देशनालयले करिब ६५ करोड रुपैयाँ लागत अनुमान गरी टेण्डर आव्हान गरेको उहाँले बताउनुभयो ।
करिब दुई महिनामा टेण्डरको प्रक्रिया पूरा गरिसकिने जानकारी दिनुहुँदै निर्देशक भण्डारीले भन्नुभयो, ‘भैंसे–भीमफेदी सडकखण्ड दुई लेनको बन्नेछ । निर्माण अवधि दुई वर्षको हुनेछ ।’ साढे ११ किलोमिटर सडकखण्डलाई बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको उहाँको भनाइ छ । अहिले सिंगल लेनको रुपमा रहेको सडक १० मिटर चौडा गरी ७ मिटर कालोपत्रे गरिनेछ ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भैंसे–भीमफेदी सडक विस्तारको योजना गाउँपालिकाका लागि महत्वपूर्ण योजना भएको बताउनुभयो । उहाँका अनुसार सडक विस्तारको कार्यलाई छिटो सक्न गाउँपालिकाले आवश्यकताअनुसार भैंसे–भीमफेदी वैकल्पिक बाटो प्रयोग गर्न सक्ने छ । ‘गाउँपालिकाकै विकासका लागि महत्वपूर्ण हुने योजना बेलैमा पूरा गर्न र निर्माण कम्पनिलाई सहजताका साथ काम गर्न गराउन उक्त सडक पूर्ण रुपमा बन्द गराएर पनि काम गर्ने वातावरण गाउँपालिकाले गर्नेछ’, गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो ।
छोटो बाटो सजिलो बनाइँदै
संघीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौंडासँग जोड्ने छोटो बाटोको रुपमा रहेको हेटौंडा–भीमफेदी–फर्पिङ–काठमाडौं सडकलाई सजिलो बनाउन प्रदेश सरकारले विशेष ध्यान दिएको छ । प्रदेश सभाका सांसदहरुले समेत पटक–पटक प्रदेशको उत्तरी क्षेत्र र संघीय राजधानी काठमाडौंबाट प्रदेशको राजधानीसँगको सम्पर्क सडक स्तरीय नभएको भनी गुनासो गरिरहेका बेला बागमती प्रदेशको भौतिक विकास मन्त्री नियुक्त हुनुभएपछि रामेश्वर फूँयालले हेटौंडा–भीमफेदी–फर्पिङ–काठमाडौं सडकलाई सजिलो बनाउन अग्रसर हुनुहुन्छ ।
हेटौंडा–भीमफेदी–फर्पिङ–काठमाडौं सडक अन्तर्गत नै भीमफेदीदेखि कुलेखानी सिमखोलासम्म पनि सडक विस्तारको कार्य सुरु भइसकेको छ । २०७७ साल चैत महिनासम्ममा काम सक्नुपर्ने गरी भीमफेदीबाट देउराली र देउरालीबाट कुलेखानीको सिमखोलासम्म दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ । दुबै खण्डको गरी ३२ करोडमा निर्माण कम्पनिसँग बागमती प्रदेश सरकारको सडक पूर्वाधार विकास निर्देशनालयले सम्झौता गरेको निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो । साढे ५ मिटर कालोपत्रे गर्ने गरी निर्माण कार्य भइरहेको छ । अब १० दिनभित्र सडकको कटिङको कार्य सकिने र त्यसपछि टेवा पर्खाल, ढल बनाउने काम सुरु हुनेछ । निर्देशक भण्डारीका अनुसार हेटौंडा–काठमाडौं सडकको हेभी–ज्यामिरे खण्ड, सिस्नेरी–फर्पिङ खण्ड पनि निर्माणको कार्य भइरहेको छ ।