फाइल तस्बिर

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा सञ्चालन भइरहेको अर्धवार्षिक परीक्षामा अनुपस्थित विद्यार्थी संख्या उल्लेख्य रहेको छ । बसाईंसराईं, बालविवाह, घरायसी समस्या, बिचैमा पढाइ छाड्ने र बिरामीका कारण अर्धवार्षिक परीक्षामा विद्यार्थी अनुपस्थित भएको पाइएको हो ।

हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा करिब २५ जना विद्यार्थी अर्धवार्षिक परीक्षामा अनुपस्थित भएका छन् । भूटनदेवी माध्यमिक विद्यालय परीक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले चालु शैक्षिक सत्रमा एक हजार २ सयभन्दा बढी विद्यार्थी भर्ना बताउनुभयो । अर्धवार्षिक परीक्षामा बिरामी, घरायसी समस्या र बिचैमा पढाइ छाड्नेजस्ता कारणले विद्यार्थी अनुपस्थित भएको चौलागाईंले बताउनुभयो ।

हेटौंडा–४ कै आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका ६९ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठले २ हजार २ सय ६० जना विद्यार्थी परीक्षामा उपस्थित भएको बताउनुभयो । श्रेष्ठले बिरामी र बिचैमा पढाइ छोडेका कारण विद्यार्थी परीक्षामा अनुपस्थित भएको बताउनुभयो ।

यसैगरी हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका ५२ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले अस्थायी बसोबास गर्ने अभिभावकका बालबालिकाले बिचमै पढाइ छाड्ने गरेका र केही विद्यार्थी बिरामी भएका कारण परीक्षामा अनुपस्थित संख्या बढी देखिएको बताउनुभयो । उहाँका अनुसार चालु शैक्षिक सत्रमा ४ सय २७ जना विद्यार्थी भर्ना भएकामध्ये ३ सय ७५ जना विद्यार्थीले परीक्षा दिएका छन् ।

हेटौंडा–८, कमानेमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयका ९२ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् । चन्द्रोदय माध्यमिक विद्यालयका सूचना अधिकारी तथा प्ररीक्षा शाखा प्रमुख बज्रकिशोर गुप्ताले बसाईंसराईं, बालविवाह र बिरामीका कारण विद्यार्थी परीक्षामा अनुपस्थित भएको बताउनुभयो । उहाँले ७ सय ६५ जना भर्ना भएका विद्यार्थीमध्ये ६ सय ७३ जना विद्यार्थी परीक्षामा उपस्थित भएको जानकारी दिनुभयो ।

उहाँहरुले परीक्षामा अनुपस्थित अधिकांश विद्यार्थी परीक्षामा उपस्थित नहुनुको कारण यकिन नभएको बताएका छन् । परीक्षामा अनुपस्थित अधिकांश विद्यार्थीले विद्यालयमा अनुपस्थित हुनुको कारण खुलाएर निवेदन नदिने भएकाले कारण यकिन नभएको उहाँहरुको भनाई छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका तथा अन्य गाउँपालिकाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडामा आवद्ध ३७ वटा विद्यालयले एउटै प्रश्नपत्रमा परीक्षा सञ्चालन गरिएको छ भने अन्य विद्यालयहरुले आ–आफैं प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गरेका छन् ।

हेटौंडा उपमहानगर क्षेत्रमा ७१ वटा सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालयहरुमा अघिल्लो आइतबारबाट परीक्षा सुरु भएको थियो । ती विद्यालयहरुमा आज सोमबारबाट परीक्षा सकिनेछ । केही विद्यालयले गत मंगलबार/बुधबारदेखि परीक्षा सञ्चालन गरेका कारण बिहीबारसम्म परीक्षा सञ्चालन हुने बताइएको छ ।