हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकालमा भएका उपलब्धी र निर्णयहरु सार्वजनिक गर्नुभएको छ । आइतबार सञ्चारकर्मी भेटघाट कार्यक्रमको आयोजना गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा भएको मुख्य उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले २०७८ कात्तिक ११ गते बागमती प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । मुख्यमन्त्रीको जिम्मेवारी लिएपश्चात् बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको थियो । जस अनुसार प्रत्येक स्थानीय तहको एउटा वडामा न्यूनतम १ करोड बजेट कार्यान्वयन गर्ने गरी नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन कार्यविधि तर्जुमा गरिएको छ ।
प्रदेशको धादिङ, चितवन र मकवानपुरलाई समावेश गरी चेपाङ विशेष संरक्षित क्षेत्र घोषणा गरिएको छ । साथै चेपाङ जातिको महत्वपूर्ण न्वागी पर्वलाई सांस्कृतिक महत्व प्रदान गरी धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक विदा घोषणा गरिएको छ । बागमती प्रदेशभित्र रहेका तामाङ र नेवार जातिहरुको भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरिएको छ । उक्त भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्य सञ्चालनका लागि आवश्यक तयारी गर्न कार्यदल गठन भएको छ । प्रदेशभित्रका ११ स्थानीय तहको साझेदारीमा नवप्रवर्द्धन साझेदारी कोषअन्तर्गत् १४ करोड ८० लाख रुपैयाँ रकम उपलब्ध गराई कार्यक्रम कार्यान्वयन गरिएको छ ।
मुख्यमन्त्री पाण्डेले अघिल्लो प्रदेश सरकारको नेतृत्व गरेकाहरुले प्रदेश सरकार सञ्चालनमा पुर्याएको योगदानलाई धन्यवाद दिनुहुँदै अब बन्ने सरकारले अहिलेका महत्वपूर्ण निर्णयहरुलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।
