हेटौंडाः हेटौंडा क्याम्पसले हेटौंडा–१७, हटियामा शैक्षिक भवन निर्माण कार्य सुरु गरेको छ । सोमबार बिहान जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले संयुक्तरुपमा क्याम्पसको शैक्षिक भवनको सिलान्यास गर्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगको करिब ३ करोड सहयोगमा शैक्षिक भवन निर्माण गर्न लागिएको हो । आयोगले पहिलो चरणमा ७५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिनुभएको छ । तीन किस्तामा प्राप्त हुने रकमबाट ५ तल्ले शैक्षिक भवन बनाउने योजना रहेको क्याम्पस प्रमुख मानन्धरले स्पष्ट पार्नुभयो ।
हेटौंडा–४ मा भुटनदेवी माविको स्वामित्वमा रहेको जमिनमा भवन निर्माण गरी दशजोड दुई, स्नातक र स्नात्तकोत्तर तहको अध्ययन अध्यापन गरिरहेको हेटौंडा क्याम्पसले आफ्नै स्वामित्वको जमिनमा भवन निर्माण गर्न लागेको हो । हटियामा निर्माण हुने भवनमा प्राविधिकतर्फको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले जानकारी दिनुभएको छ ।











