पुस, माघ जाडोयाम हो । पुस लागेसँगै बढ्दै गएको चिसो पुसको मध्येतिरबाट अझै बढेको छ । केही दिनदेखि बढेको चिसोले मुलुकका विभिन्न भागका मानिसको दैनिकी प्रभावित बनिरहेको छ । बढ्दो चिसोकै कारण गरिब, निमुखा नेपालीको जीवन कष्टप्रद बनिरहेको छ । भौगोलिक कारणले नेपालको हिमाली क्षेत्रमा बढी चिसो हुने भए पनि चिसोबाट मुलुकको तराई क्षेत्र बढी प्रभावित हुने गर्दछ । हरेक वर्ष जाडोयाममा तराईका अधिकांश भूभागमा शीतलहर चल्ने गर्दछ । तराईका सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलबस्तु, बाँकेलगायत जिल्लामा चिसोको प्रभाव बढी पर्ने गरेको छ । तराईमा शीतलहर, उच्च पहाडी क्षेत्रमा तुषारो र हिमाली क्षेत्रमा हिमपातका कारण जाडोयाममा जनजीवन निकै कष्टप्रद बन्ने गर्दछ । चिसोमा न्यानो कपडा, उपयुक्त खानेकुरा, एवम् ओढ्ने ओछ्याउने उचित व्यवस्था नहुँदा कतिपय मानिसहरुको ज्यानसमेत जाने गरेको छ ।
चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई असर पार्दछ । विद्यालय जानुपर्ने बालबालिका र कामकाजमा हिँड्नुपर्ने वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । यसकारण पनि जाडोयाममा चिसोबाट उनीहरुलाई बचाउनकै लागि न्यानो कपडा वितरण गर्ने क्रम बढ्दै गएको छ । जोडायाममा चिसोबाट कठाङ्ग्रिनुपर्ने अवस्थाका बालबालिका र वृद्धवृद्धालाई न्यानो कपडाको व्यवस्था गर्नु पुण्यको काम हो । त्यही भएर विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले न्यानो कपडा वितरण गर्ने गरेको पाइन्छ । पछिल्लो समय स्थानीय सरकारले पनि न्यानो कपडा वितरण गर्न थालेको छ, जसलाई सकारात्मक सुरुवात मान्न सकिन्छ । विशेषगरी विद्यालयमा अध्ययनरत साना कक्षाका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने गरिएको छ । यसले बालबालिकालाई चिसोमा नियमित विद्यालय जान सहज बनाउने विश्वास गर्न सकिन्छ । व्यक्ति तथा संघसंस्थाले विपन्न समुदाय र बालबालिकाको लागि वितरण गर्दै आएको न्यानो कपडा पर्याप्त भने हुन सकेको छैन ।
जाडोयाममा बढ्ने चिसोले बालबालिका, वृद्धवृद्धा तथा भरखर जन्मिएका शिशुहरुमा बढी असर गर्ने गरेको पाइन्छ । चिसोको बढ्दै जाँदा अन्य कामकाजी मानिसको जीवनयापन पनि सहज हुँदैन । कमजोर आर्थिक अवस्था भएका नागरिकहरु चिसोबाट बढी पीडित हुने गर्दछन् । आर्थिकरुपमा अत्यन्तै कमजोर अवस्थाका, गरिब तथा निमुखा वर्ग चिसोबाट बढी प्रभावित हुने गरेको पाइन्छ । धनी, सम्पन्न तथा हुनेखानेका लागि चिसोको प्रभाव न्यून हुन्छ । उनीहरु आफ्नो आवश्यकताअनुसार बाक्लो तथा न्यानो कपडा लगाउन सक्छन् । तातो दिने खानेकुरा खान सक्छन् । तर, कमजोर आर्थिक अवस्था भएकाहरुका लागि जाडोयाममा चिसोसँग संघर्ष गरेर बाँच्नुको विकल्प छैन । उनीहरुलाई आवश्यकताअनुसार न्यानो कपडा, बाक्लो ओढ्ने, तातो दिने खानाको उचित व्यवस्थापन गर्न सजिलो छैन । जाडोमा काँप्दै भोको बस्नुपर्ने अवस्था न्यून आय भएकाका लागि बाध्यात्मक बन्ने गरेको छ ।
चिसो बढ्दै जाँदा शरीर न्यानो राख्न पर्याप्त न्यानो कपडाहरुको व्यवस्था गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । केही संस्था तथा व्यक्तिले सिमित मानिसलाई न्यानो कपडा वितरण गर्ने गरेको भए पनि न्यानो कपडा आवश्यक पर्ने सबै मानिसलाई त्यसको उचित व्यवस्था हुनुपर्छ । चिसो बढ्दै गएको अवस्थामा पर्याप्त तातो दिने खानेकुरा खान नसक्ने वर्गका लागि उचित खानेकुराको व्यवस्था गरिनुपर्छ । चिसोबाट बढी प्रभावित बनिरहेकाहरुको जीवन सहज बनाउने र बचाउने दायित्व राज्यको हो । यसकारण तीनै तहको सरकारले आपसमा सहकार्य र समन्वय गरेर चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य विपन्न नागरिकहरुलाई आवश्यक सहयोग गर्नु आवश्यक छ ।











