सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका १ बाघझोरास्थित हेटौंडा भैंसे सडक खण्डमा सुमो दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । बिहीबार राती ७ बजेर ३० मिनेटको समयमा काठमाडौंबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ३४७६ नम्बरको सुमो दुर्घटना भएको थियो ।

सुमो आफैं अनियन्त्रित भई नालिमा खस्दा सुमोमा सवार ९ जना घाईते भएका हुन् । दुर्घटनामा मकवानपुरको बकैया गाउँपालिका–१ महादेवडाँडा बस्ने ३३ वर्षीय बिबाई सिं बल, बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर बस्ने २५ वर्षीय मन्जु आचार्य, हेटौंडा ४ बस्ने ३१ वर्षीय सुनिल ठाकुर र निजको छोरी ५ वर्षीया मुस्कान ठाकुर घाईते भएका छन् ।

यस्तै, रौतहट घर बताउने १९ वर्षीय अभय ठाकुर, पर्सा बिरगंज–३ छप्कैया बस्ने ५८ वर्षीय ईमामोदिन महमद, निजको श्रीमति ४८ वर्षीया रमिता कोम र निजको छोरी १२ वर्षीया आसिया महमद, बारा जितपुर सिमरा–३ बस्ने २३ वर्षीया आकाश साह घाईते भएका छन् । घाईतेलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको छ । दुर्घटना भएपश्चात् प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षक नबिन कुमार सिङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।दुर्घटना भएको सुमो घटना स्थलमा रहेको र सुमो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।