हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा बालकक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बिहीबारदेखि हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा ३ दिने प्रशिक्षण सुरु भएको हो ।
शैक्षिक सुधार समितिका अध्यक्ष श्रीराम दाहालको सभाध्यक्ष तथा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा प्रशिक्षण सुरु भएको हो । वडाध्यक्ष सिग्देलले तल्लो तहको कक्षाबाटै शैक्षिक गुणस्तर बनाउने उद्देश्यले प्रशिक्षण सुरु गरिएको बताउनुभयो । जसले माथिल्लो तहको शैक्षिक गुणस्तर वृद्विमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रतिष्पर्धी ढङ्गले सामग्रीहरु निर्माण भए बजारीकरण वडाले गर्ने उहाँले बताउनुभयो । यस्तै, प्रशिक्षक सुस्मा शिवकोटी र मनमाया स्याङ्तानले शनिबारसम्म प्रशिक्षण दिनुहुने जनाएको छ । ४ नम्बर वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका करिब २० जना शिक्षकहरुले प्रशिक्षण लिन सुरु गर्नुभएको छ । कार्यक्रममा भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहाल लगायतको उपस्थिति रहेको थियो ।
