हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले गत जेठ महिनामा आयोजना गरेको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको छ । संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
कुल १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी भएको र एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी गराउनुभयो । प्रतियोगिता आयोजनाका लागि मकवानपुरका स्थानीय तहहरुले मात्रै झण्डै ६० लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्बाट ४१ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २४ लाख १६ हजार रुपैयाँ, ८ वटा गाउँपालिकाहरुबाट ३३ लाख ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि ६ लाख ९८ हजार रुपैयाँ मूल्यको बुलेट मोटरसाइकल हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको थियो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको प्रतियोगितामा टिकटबाट मात्रै २२ लाख रुपैयाँ आम्दानी भएको बताइएको छ ।

प्रतियोगिता आयोजनाका क्रममा खेलाडी भत्ताका लागि ३३ लाख ३० हजार रुपैयाँ, पुरस्कारका लागि २८ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । अतिथि सत्कारमा ७ लाख ८३ हजार रुपैयाँ, रेफ्री खर्च ६ लाख ९९ हजार रुपैयाँ, प्रचारप्रसारमा ५ लाख रुपैयाँ, खेलमैदान व्यवस्थापनमा ५ लाख ९४ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
दोस्रो संस्करणदेखि चौथो संस्करणसम्म प्रतियोगिता आयोजक समितिको संयोजकको भूमिका निर्वाह गर्नुभएका प्रताप विष्टले आगामी दिनमा संयोजक नबस्ने घोषणा गर्नुभएको छ । प्रतियोगिता आयोजनाका लागि आफूले सक्दो सहयोग गरेको र आगामी दिनमा जिल्ला फुटबल संघकै टिमबाट संयोजन र व्यवस्थापनको कार्य होस् भन्दै विष्टले संयोजकको भूमिकामा नरहने स्पष्ट पार्नुभयो । तीन वटा संस्करणमा संयोजकको जिम्मेवारीको अवसर दिएकोमा मकवानपुर जिल्ला फुटबल संघप्रति विष्टले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समिति सदस्य समेत रहनुभएका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले आफ्नो नेतृत्वमा फुटबलको गतिविधि बढेको र संयोजकको रुपमा प्रताप विष्टले उल्लेखनीय कार्य गरेको बताउनुभयो । अध्यक्ष लामाले मकवानपुर जिल्लामा ए डिभिजन लिगका खेलहरु आयोजनाका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । फुटबलको विकासका लागि स्थानीय सरकारसँगको सहयोग र सहकार्यमा एन्फाले मकवानपुर जिल्लामा एकेडेमी नै सञ्चालन गर्ने तयारी गरिरहेको पनि अध्यक्ष लामाको भनाइ छ ।
पाँचौं संस्करणको गोल्डकप ए डिभिजन लिग फुटबल सुरु हुनु अघि फागुन पहिलो साता नै आयोजना गर्ने अध्यक्ष लामाले जानकारी गराउनु भएको छ । स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, निमित्त कार्यालय प्रमुख माधव कोइरालाको पनि उपस्थिति रहेको थियो ।
पिप्ले–क्याम्पा रंगशालालाई ५ लाख दिइने

यसैबीच मकवानपुर जिल्ला फुटबल संघले चौथो संस्करणको स्थानीय तह सहिद स्मृति गोल्डकप–२०७९ आयोजनाका क्रममा बचत भएको रकमबाट पिप्ले–क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ रकम सहयोग गर्ने भएको छ । आय–व्यय विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रताप विष्टले पिप्ले–क्याम्पा रंगशालालाई ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिनुभएको हो । प्रतियोगिता आयोजनास्थलको विकासका लागि पनि केही लगानी गर्ने उद्देश्यले पहिले नै सहयोगको घोषणा गरिएको स्मरण गर्नुहुँदै छिट्टै सहयोग रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।











