हेटौंडाः विश्वविद्यालय तहको शिक्षा प्रदान गर्दै आएको मकवानपुर जिल्लाकै पुरानो शैक्षिक संस्था हेटौंडा क्याम्पसले आफ्नो भविष्य हेटौंडा–१६ मा केन्द्रित गर्ने भएको छ । भुस्वामित्वको अभावमा क्याम्पसको भौतिक विकासका लागि सहयोगी संस्थाबाट प्राप्त हुने सहयोग उपयोग गर्न नपाउँदा हेटौंडा क्याम्पसले आफ्नै स्वामित्वको जमिन खरिद गरी हेटौंडा–१६, हटियामा शैक्षिक भवन निर्माण कार्य सुरु गरेको छ ।
हाल हेटौंडा–४ स्थित भुटनदेवी माविको स्वामित्वको जमिनमा भवन निर्माण गरी सञ्चालनमा रहेको हेटौंडा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हटियामा शैक्षिक भवन निर्माण गर्न सुरु गरेको हो । भोलिका दिनमा आवासीय तथा व्यावसायिक विकास हुँदै जाँदा हेटौंडाको हटियाक्षेत्र थप विकसित र विस्तारित समेत हुँदै जाने विश्वास व्यक्त गर्नुहुन्छ हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर । कक्षा ११ र १२, स्नातक र स्नात्तकोत्तर तहमा गरी करिब २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हेटौंडा क्याम्पसले हटियामा ५ तल्ले भवन निर्माण कार्य सुरु गरेको छ । बहुवर्षीय योजनाको रुपमा आगामी ३ वर्षभित्र हटियामा आफ्नै स्वामित्वको जमिनमा हेटौंडा क्याम्पसको ५ तल्ले शैक्षिक भवन तयार हुने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिनुभयो । विश्वविद्यालय अनुदान आयोगले कुल ३ करोड रुपैयाँको अनुदान सुनिश्चित गरिसकेको जानकारी दिनुहुँदै क्याम्पस प्रमुख मानन्धरले भन्नुभयो, “पहिलो किस्तास्वरुप हामीले यो वर्ष ७५ लाख रुपैयाँ पाएका छौं । सोहीअनुरुप हेटौंडा क्याम्पसको स्वामित्वमा रहेको २ कठ्ठा जमिनमा भवन निर्माणका लागि टेण्डरमार्फत सत्गुण निर्माण सेवासँग भवन निर्माणको सम्झौता भएको छ ।”
पहिलो चरणमा ४ कोठे भवन तयार हुनेछ भने दोस्रो चरणमा एक करोड ५० लाख रुपैयाँ प्राप्त भएपछि तल्ला थप गर्दै जाने योजना छ । तेस्रो किस्तावापत ७५ लाख रुपैयाँ प्राप्त हुनेछ । पहिलो चरणको कामस्वरुप ४ कोठे भवन आगामी चैत अन्तिमसम्ममा निर्माण सकिने गरी निर्माण कम्पनिसँग सम्झौता भएको छ । आगामी दिनमा क्याम्पसलाई हेटौंडामा स्थानान्तरण गर्ने हटिया क्षेत्रको विकासमा पनि हेटौंडा क्याम्पसको उपस्थिति सार्थक तुल्याउने प्रयास हुने क्याम्पस प्रमुख मानन्धर दावी गर्नुहुन्छ । यसअघि पनि हेटौंडा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट कम्प्युटर, प्रोजेक्टर र फर्निचरका लागि तीन पटक गरी २० लाख रुपैयाँ अनुदान प्राप्त गरेका छ । यस्तै वार्षिक परीक्षामा विद्यार्थीको नतीजाका आधारमा १७ लाख ३५ हजार रुपैयाँ नगद अनुदान पनि हेटौंडा क्याम्पसले प्राप्त गरेको छ ।











