हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेको कालिप्रसाद गण आर्मी ब्यारेक नजिक त्रिभुवन राजपथ सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । गाडीमा सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ का २० वर्षीय राहुल कुमार पण्डितको मृत्यु भएको हो ।
पण्डितलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा १० बजेर १२ मिनेटको समयमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । आइतबार बिहान ९ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट दामनतर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप गाडी आफैं अनियन्त्रित भई नालिमा दुर्घटना भएको हो । गाडी दुर्घटनामा बारा जिल्लाको बिश्रामपुरका गाउँपालिका–२ का २७ वर्षीय अजय चौरसिया, भारत झारखण्ड बस्ने ३६ वर्षीय विजय दास, पर्सा वीरगंज महानगरपालिका–१७ का १८ वर्षीय सुमित गुप्ता, वीरगंज बौदरमाई नगरपालिका–५ का २६ वर्षीय दिनानाथ प्रसाद र सोही ठाउँका २८ वर्षीय उमेश कुशवाह घाइते भएका छन् ।
यस्तै, बारा बिश्रामपुर गाउँपालिका–३ का तीन जना घाइते भएका छन् । सोही ठाउँका १८ वर्षीय शिवजी साह, १८ वर्षीय धिरज चौरसिया र १७ वर्षीय पप्पु कुमार गुप्ता घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था मध्यम छ भने बाँकीको स्वास्थ्य अवस्था सामान्य छ । दुर्घटना हुँदा गाडी चालक सामान्य घाइते भएको र अस्पताल जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्कमा नरहेको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । उनको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।











