सर्लाहीमा पुस दोस्रो साता भएको शिविरमा मोतिविन्दुको शल्यक्रियापछि आँखामा लगाइएको टेप निकालिँदै ।

हेटौंडाः सन् २०२२ मा हेटौंडा सामुदायिक आँखा अस्पतालले २ हजार ५ सय जनाको मोतिविन्दुको शल्यक्रिया गरेको छ । मोतिविन्दुका विरामीलाई आँखा अस्पतालले निशूल्क शिविरको आयोजना गरेर खोजी गर्नुका साथै निशूल्क उपचार गराउँदै आएको छ । विभिन्न सामाजिक संघ, संस्थाको सहयोगमा आँखा अस्पतालले शिविरको आयोजना गर्ने गरेको छ ।

सन् २०२१ को तुलना झण्डै ८ सय बढी संख्यामा मोतिविन्दुको शल्यक्रिया गरिएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठका अनुसार सन् २०२१ मा १ हजार ७ सय २० जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो । कोभिड–१९ को महामारीका कारण सन् २०२१ मा कम संख्यामा मोतिविन्दुको शल्यक्रिया भएको हो । सन् २०२२ मा मोतिविन्दुको शल्यक्रिया गरिएका मध्ये करिब १ हजार ७ सय जना निशूल्क शिविरका क्रममा पहिचान भएका विरामी छन् भने करिब ८ सय मोतिविन्दुका विरामी अस्पतालमै आएर उपचार गराउने छन् ।

सामुदायिक आँखा अस्पतालले विपन्न लक्षित गरी सामाजिक संघ, संस्थाको सहयोगमा निशूल्क आँखा शिविरको आयोजना गर्ने गरेको छ । निशूल्क शिविरको आयोजना गरेर मोतिविन्दुको समस्या पहिचान भएका विरामीलाई आँखा अस्पतालमै ल्याएर शल्यक्रिया गर्ने गरिएको छ भने कतिपय अवस्थामा शिविर आयोजना गरिएको स्थानमै शल्यक्रिया गर्ने व्यवस्था पनि अस्पतालले गर्ने गरेको छ । अहिले सामुदायिक आँखा अस्पतालसँग निशूल्क शिविरको आयोजना गर्न तथा शिविरमा पहिचान भएका मोतिविन्दुका विरामीको निशूल्क उपचारका लागि पर्याप्त स्रोत रहेको वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले साताको ४ दिन सोमबार, मंगलबार, बुधबार र बिहीबार शल्यक्रिया सेवा सञ्चालन गर्ने गरेको छ । अहिले सामुदायिक आँखा अस्पतालमा हातले आँखाको मोतिविन्दुको शल्यक्रिया गर्दा ८ हजार रुपैयाँ शूल्क लिने गरेको छ भने मेसिनबाट मोतिविन्दुको शल्यक्रिया गर्दा १२ हजार रुपैयाँ शूल्क कायम गरेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक २ सयको हाराहारीमा सेवाग्राही रहने गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमपछि सेवाग्राही बढेको र कुल सेवाग्राहीमध्ये करिब आधा सेवाग्राही बीमा कार्यक्रमका रहने गरेको अस्पतालले स्पष्ट पारेको छ ।