शिविरमा एक ज्येष्ठ महिलाको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार ४ सय १३ जनाको निशूल्क स्वास्थ्य परिक्षण गरिएको छ । बकैया–६ को आयोजना तथा हेटौंडास्थित चुरेहिल हस्पिटलको प्राविधिक सहयोगमा जुइना आधारभूत स्वास्थ्य चौकीमा भएको शिविरमा २ सय ६७ जना महिला र १ सय ४६ जना पुरुष गरी ४ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको चुरेहिल हस्पिटलका कर्मचारी तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी तथा नशा स्वास्थ्य, जनरल फिजिसियन सेवा र जनरल सर्जरी सेवा सम्बन्धी जाँच गरिएको थियो । शिविरमा चुरेहिल हस्पटिलका हाडजोर्नी तथा नशा स्वास्थ्य विशेषज्ञ डाक्टर भरत तिमल्सिना, जनरल फिजिसियन डाक्टर चन्द्रप्रकाश यादव र जनरल सर्जक डाक्टर सरोज प्रधानले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका मध्ये धेरैलाई छाती, दम, पाइल्स, निमोनिया र बाथसम्बन्धी स्वास्थ्य समस्या देखिएको श्रेष्ठले बताउनुभयो । शिविरमा ईसिजी सेवा प्रदान गरिनु साथै निशुल्क औषधी पनि वितरण गरिएको थियो ।