हेटौंडाः “बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार–२०७९” नेपालका वरिष्ठ गायक, संगीतकार, लेखक तथा निर्देशक डा. किरण प्रधानलाई प्रदान गरिने बताइएको छ । शनिबार हेटौंडा पत्रकार भेटघाट कार्यक्रममा भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले डा. प्रधानलाई १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गर्ने बताएको हो ।
२०६४ सालमा हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गर्नुभएको उक्त पुरस्कार आगामी माग १५ गते हेटौंडामा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने बताइएको छ । २०१० सालमा काठमाडौंमा जन्मनुभएका प्रधानले हालसम्म ४ सयभन्दा बढी गीतमा स्वर दिनुभएको छ । साथै, ७ वटा गीति एल्बमसमेत सार्वजनिक गरिसक्नुभएको छ ।
देशविदेशमा सयौं स्टेज कार्यक्रम गर्नुभएका साथै फिल्म निर्माण–निर्देशनसमेत गर्नुभएको छ । हालसम्म अम्बर गुरुङदेखि दाबा ग्याल्मोजस्ता १३ जना व्यक्तित्व उक्त पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको उपस्थितिमा पुरस्कार घोषणा गरिएको हो ।