हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९, खरंगामा यात्रु बसले ठक्कर दिँदा एकजना यात्रुको मृत्यु भएको छ । बुधबार बिहान ४ बजेको समयमा झापाबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ४६०७ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–७, कोदारका ४५ वर्षीया सीता मिजारको मृत्यु भएको हो ।
काकडभिट्टाबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको बसमा सवार भई आएकी सीता चिया खान बस रोकेपछि बाटो पार गर्ने क्रममा बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी सीतालाई उपचारका लागि हेटौंडा–११ स्थित चुरेहिल हस्पिटल पुर्याइएको थियो । सीतालाई अस्पतालमा मृत घोषित गरिएको प्रहरीले जनाएको छ । सीतालाई ठक्कर दिने बस र चालक रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय सिम बहादुर पल्ली मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











