हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन (आप्रवासी श्रमिक) दिवस यस वर्ष पनि सप्ताहव्यापीरुपमा मनाउन लागिएको छ । डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापीरुपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो । हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ । यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराका साथमा मनाइँदै छ । यसवर्ष २३ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसलाई नेपालमा प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन विभिन्न कार्यक्रम भइरहेका छन् । प्रदेश सरकार तथा स्थानीय तहको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्था, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा ट्रेड युनियनहरुको समेत सहभागितामा कार्यक्रम आयोजना गरिएका छन् ।
विश्वका आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले सन् १९९० मा अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । यसै दिनको स्मरणमा सन् २००० देखि डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रुपमा मनाउन थालिएको हो । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्यरुपमा आप्रवासन भनिन्छ । तर नेपालमा भने यसको परिभाषा फरक भइसकेको छ । नेपालमा आप्रवासन भन्नेबित्तिकै वैदेशिक रोजगारीमा जानेलाई बुझिन्छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार विश्वमा २८ करोड ५९ लाख मानिसहरु आप्रवासी श्रमिकको रुपमा रहेका छन् । नेपालमा आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म झण्डै ६० लाखले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म १० हजार ९ सय ३२ जनाको वैदेशिक रोजगारीकै क्रममा ज्यान गएको छ । दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अंगभंग भएर भएर स्वदेश फर्किएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारीमा जानु नेपालीको लागि अहिले बाध्यता नै छ । स्वदेशमा पर्याप्त रोजगारीको सम्भावना नभएका कारण अधिकांश नेपाली कामको लागि विदेशिएका छन् । आप्रवासनको कारण विप्रेषण आर्जन भई देशको आर्थिक अवस्था केही मजबुत बनाए पनि यसले देशमा निकै समस्या ल्याएको छ । देशको कृषि धरासायी भएको छ । पारिवारिक विखण्डन छ । जन्मदर घटेको छ । क्रियाशील उमेरको युवा अरुको देश विकास गर्न हिँडेका कारण आफ्नै देशको विकासको गति पछि परेको छ । कतिको मृत्यु हुन्छ उतै, अनि कति अंगभंग भएर फर्केका छन् । वैदेशिक रोजगारले गरिबी घटाएको छ, देशभित्र विप्रेषण आएको छ । रोजागारी दिएको छ, सीप सिकेका छन्, संस्कार सिकेका छन् । धेरैको घरबार सुधार्ने वैदेशिक रोजगार कतिपयका लागि भने घरबारविहीन बनाउने माध्यम पनि बनेको छ ।
आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउन राज्यको पर्याप्त ध्यान जान सकेको छैन । देशमा थुप्रै कानुनी व्यवस्था हुँदासमेत तिनको प्रभावकारी कार्यान्वयन नहुँदा आप्रवासनको समस्या जटिल बनिरहेको छ । सरकारले नागरिकलाई आप्रवासी बनाउनतर्फ नलागी देशभित्रै रोजगारीको अवसर सिर्जना गरी देश विकासमा लाग्न शिक्षा, स्वास्थ्य, रोजगारी, तालिमलगायतका क्षेत्रमा पहलकदमी लिनुपर्छ । वैदेशिक रोजगारीमा जान चाहने वा गएकाहरु देशभित्र तथा बाहिर ठगिने र विदेशमा अलपत्र पर्ने क्रम रोकिएको छैन । आप्रवासन दिवस मनाइँदै गर्दा विदेशमा भएका श्रमिकको शान्तिसुरक्षा, पेसागत ग्यारेन्टीका साथै पारिश्रमिकलगायत सम्पूर्ण क्षेत्रमा राज्यको ध्यान पुग्नु आवश्यक छ । लाखौं युवाका लागि बाध्यात्मक बनेको आप्रवासनको अन्त्य हुनुपर्छ । दिवसको नाराले भनेजस्तो वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञानलाई उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमानको रक्षामा लगाउन सक्नुपर्छ ।











