Home कला ऋत्विक केबीको पहिलो कृति विमोचन

ऋत्विक केबीको पहिलो कृति विमोचन

पुस्तक विमोचन गर्दै अतिथिहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक केबिको पहिलो कृति विमोचन भएको छ । बिहीबार बालजागृति विद्यालयको सभाहलमा ऋत्विक पहिलो कृति “कोरिएका धर्साहरू” विमोचन भएको हो ।

उनका कृति “कोरिएका धर्साहरू” मा २४ वटा कविताहरु रहेका छन् । उनी विभिन्न साहित्यक कार्यक्रम, चित्रकलासँगै अध्ययनमा समेत अगाडी छन् । कार्यक्रममा सानै उमेरमा कविता संग्रह प्रकाशन गरेको भन्दै सहभागी अतिथिहरुले ऋत्विकको प्रशंसा गरेका छन् । ऋत्विकका कविता संग्रहमा समय सान्दर्भिक लेख पाइएको सर्जक सञ्जाल मकवानपुर अध्यक्ष निमेष निखिलले बताउनुभयो ।

“सानै उमेरमा ऋत्विकले कविता सङ्ग्रह प्रकाशन गरेको छ । उनको कवितामा समय सान्दर्भिकता पाइन्छ”, उहाँले भन्नुभयो । त्यस्तै बालजागृति विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले ऋत्विकको कविता सङ्ग्रहले अन्य विधार्थी र नयाँ सर्जकमा थप हौसला मिल्ने धारणा व्यक्त गर्नुभयो । उहाँले ऋत्विकको कविता सङ्ग्रहले विद्यार्थीहरु गौरभान्वित भएको बताउनुभयो । साहित्य क्षेत्रमा लाग्न चाहने बालबालिकालाई हौसला मिलेको उहाँको भनाई थियो ।

बालजागृति विद्यालयका सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ऋत्विकको आमा पुण्यशिला श्रेष्ठले २० वर्षमा आफूले पहिलो कृति प्रकाशन गरेको स्मरण गर्दै छोराले १६ वर्षमा कृति प्रकाशन गरेर आफ्नै रेकर्ड तोडेको बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत बार एशोसियशन मकवानपुरका पूर्व अध्यक्ष मदन दाहाल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, साहित्यकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version