हेटौंडाः निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार बागमती प्रदेशको समानुपातिकमा करिब ८० प्रतिशत महिला निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचित प्रणालीतर्फको कुल सदर मतको १ दशमलब ४ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार बागमती प्रदेशको प्रदेशसभामा ७ वटा राजनीतिक दलका प्रतिनिधित्व समानुपातिकबाट निर्वाचित भएका छन् । प्रदेशमा ४४ जना समानुपातिकबाट निर्वाचित भएको मध्य ३४ जना महिला निर्वाचित भएका छन् । राजनीतिक दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवार उठाउन कन्जुस्याई गरेपनि समानुपातिबाट प्रदेश सभामा ७९ दशमलब ५५ प्रतिशत महिला सहभागिता रहने भएको छ । बागमती प्रदेशमा समानुपातिकमा प्राप्त कूल सदर मतको आधारमा नेकपा एमालेले १४ सिट प्राप्त गरेको छ । जसमा ९ जना महिला उम्मेदवार र ५ जना पुरुष उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभामा नेकपा एमालेबाट आनन्द कुमार श्रेष्ठ, ज्ञान बहादुर तामाङ, ठूला थामी, दिनेश चन्द्र देवकोटा, हरि प्रसाद सापकोटा निर्वाचित भएका छन् ।
यस्तै, महिलातर्फ विन्दु श्रेष्ठ, माईली तामाङ, शुक माया तामाङ, सकुन्तला श्रेष्ठ उर्मिला सुनुवार, भारती पाठक, अप्सरा चापागाई खत्री, माया कुमारी कार्की, बाल कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित भारती पाठक र अप्सरा चापागाई मकवानपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् । यसरी हेर्दा नेकपा एमालेले प्राप्त गरेको समानुपातिकको सिट मध्य ६४ दशमलब २९ प्रतिशत महिलालाई निर्वाचित भएका छ ।
त्यसैगरी, नेपाली कांग्रेसले बागमती प्रदेशमा समानुपातिकतर्फ प्राप्त सदर मतको आधारमा कुल १२ सिट प्राप्त गरेको छ । जसमा ११ जना महिला र एक जना मात्र पुरुषलाई निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट समिता खड्गी, लक्ष्मी देवी श्रेष्ठ, गीता गुरुङ, यमुना देवी श्रेष्ठ, याङगकीला शेर्पा, माया श्रेष्ठ, उर्मिला नेपाल, मिना पराजुली, शान्ता ढकाल, विनु रायमाझी पौडेल, सुना परियार प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जसमा लक्ष्मी श्रेष्ठ मकवानपुरबाट प्रतिनिधित्व गर्दैै हुनुहुन्छ । यस्तै, कांग्रेसले शिवराज अधिकारीलाई समानुपातिक सदस्य बनाएको छ ।
यता नेकपा माओवादी केन्द्र समानुपातिकतर्फ ७ सिट प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ५ जना महिला र २ जना पुरुषलाई प्रतिनिधित्व गराएको छ । माओवादी केन्द्रले उर्मिला कुमारी, भुवन केशरी श्रेष्ठ, शुष्पा भुजेल न्यौपाने, अमृता नेपाल, रुकु चौलागाई, इश्वर सापकोटा र देवेन्द्र श्रेष्ठलाई समानुपातिक सदस्यमा प्रतिनिधित्व गराएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टिले प्रदेश सभामा समानुपातिकतर्फ ६ सिट प्राप्त गरेको छ । राप्रपाको तर्फबाट कुमारी तामाङ, आशा लामा, धनेश्वरी प्रजापति, मोनिका श्रेष्ठ, लक्ष्मी घिमिरे गरी ५ जना महिला निर्वाचित भएका छन् । यस्तै, भुवन कुमार पाठक समानुपातिक सदस्य भएका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सभामा २ सिट मात्र प्राप्त भएको छ । जसमा ओम कुमारी श्रेष्ठ र मायादेवी शर्मा समानुपातिक सदस्यमा निर्वाचित भएका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीले प्राप्त गरेको २ सिट नै महिलाले पाएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजू, गिता काफ्ले सदस्य भएका छन् । हाम्रो नेपाली पार्टीले प्राप्त गरेको एक सिटमा सरिता खड्गी निर्वाचित भएकी छिन् ।
त्यसैगरी, प्रदेशमा प्रत्यक्षतर्फ २ सय ८० महिला र २ हजार ९ सय ४३ पुरुष र अन्य एक गरी ३ हजार २ सय २४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ महिला १ हजार ५ सय ११ र पुरुष २ हजार १ सय ९७ गरी कूल ३ हजार ७ सय ८ जनाको अन्तिम बन्द सूची कायम गरिएको आयोगले जनाएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को व्यवस्था अनुसार प्रदेश–१ मा ६ वटा, मधेश प्रदेशमा १० वटा, बागमती प्रदेशमा ७ वटा, गण्डकी प्रदेशमा ७ वटा, लुम्बिनी प्रदेशमा १० वटा, कर्णाली प्रदेशमा ६ वटा र सुदुरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको जनाएको छ । बागमती प्रदेशसभामा ३३ वटा राजनीतिक दलको जमानत जफत भएको छ । प्रदेशसभामा समानुपातिकतर्फ कम्तीमा एक सिट ल्याउन नसक्ने दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ ।