हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरका किसानलाई लक्षित गर्दै सञ्चालन गरेको कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा सञ्चालनमा आएको छ । हेटौंडाको ८ र १५ नम्बर वडा क्षेत्रमा रहेका कृषि तथा पशुपालनको क्षेत्रमा काम गरिरहेकाहरुलाई लक्षित गर्दै उपमहानगरपालिकाले सेवा केन्द्र फायरलाईनमा सञ्चालन गरेको हो ।

सेवा केन्द्रको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्नुभयो । सेवा केन्द्रबाट दुबै वडामा रहने किसानहरुले निःशुल्क सेवा पाउने भएका छन् । कृषि तथा पशुमा लाग्ने रोगको जाँच र औषधि निःशुल्क व्यवस्थापन गर्ने गरी नगरका विभिन्न ठाउँमा सेवाकेन्द्र सञ्चालन गरिएको नगरप्रमुख लामाले बताउनुभयो । अब गाउँमै सेवा आएको छ व्यावसायिक ढंगबाट काम गर्नु उपमहानगर सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

सेवा केन्द्रमा कृषि र पुशका प्राविधिक कार्यालय समयमा उपलव्ध हुने गरी सेवा केन्द्र सञ्चालन ल्याइएको उपमहानगरले जनाएको छ । सेवा केन्द्रबाट पशुमा लागेका रोगको परीक्षणसहित निःशुल्क औषधी वितरण हुने छ भने कृषिको समस्याका समाधानमा सहजीकरण प्राविधिकले गर्ने बताइएको छ ।
सेवा केन्द्रमा रहेका प्राविधिकहरुले कार्यालय समयमा घर–घरै पुगेर पनि सेवा दिने वातावरण बनाउने उपमहानगर प्रमुख लामाले जानकारी दिनुभयो ।

गाउँमा रहेका नगरवासीलाई सेवा केन्द्र सञ्चालनमा आएको र सेवा लिन आउने बारे सबैलाई जानकारी गराउन नगर प्रमुख लामाले निर्देशन समेत दिनुभयो । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक तथा हेटौंडा–१८ का अध्यक्ष अनिल बानियाँ, कार्यपालिका सदस्य मञ्जु भुर्तेल, आर्थिक विकास महाशाखा प्रमुख गंगाधर रिमाल, कृषि शाखा प्रमुख गंगा चौलागाईको आतिथ्य रहेको थियो ।