कुनै पनि देशको विकासको मुख्य बाधक भनेको भ्रष्टाचार हो । आर्थिक र शासकीय दृष्टिकोणले भ्रष्टाचार गम्भीर अपराध हो । राज्यको ढुकुटी भ्रष्टाचारीको खल्तीमा जाँदा अपराधमात्र हुने होइन, देश नै टाट पल्टने अवस्था आउँछ । लोकतन्त्रको आधारस्तम्भ रहेको सुशासन हुन नसक्दा कानुनी शासन कमजोर बन्छ र भ्रष्टाचार मौलाउँछ । हरेक निर्वाचनमा सबै राजनीतिक दलका घोषणापत्र र उम्मेदवारका भाषणको विषय नै सुशासन र भ्रष्टाचार अन्त्यमा केन्द्रित हुन्छन् । तर, निर्वाचनपछि ती सबै घोषणा र नारा बिर्सने परिपाटीको अन्त्य हुन सकेको छैन । बरु उल्टै निर्वाचन जितेर गएका जनप्रतिनिधि भ्रष्टाचारको आरोपमा पक्राउ परेको समाचार आउँछ । राज्यका कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । भ्रष्टाचारमा शून्य सहनशीलतासहितका जतिसुकै चर्का भाषण गरे पनि भ्रष्टाचार उन्मूलन केबल सपनामात्र बनिरहेको छ ।

भ्रष्टाचारविरुद्ध चासो र चिन्ता व्यक्त गर्नका लागि शुक्रबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । हरेक वर्ष डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको अन्तरक्रियामा अख्तियारमा परेका भ्रष्टाचारसम्बन्धी उजुरी तथा मुद्दालाई गम्भीरतापूर्वक हेरिनुपर्नेमा जोड दिइएको छ । अख्तियारमा परेका उजुरीका विषयमा अनुसन्धान गरेर अभियोजन गर्दा व्यक्तिको जिम्मेवारी र भूमिकाअनुसार फरक–फरक अभियोजन गर्नुपर्ने सहभागीको राय छ । प्रशासनिक कर्मचारीलाई प्राविधिक कुराबारे जानकारी नहुँदा प्राविधिकले गलत गर्दा प्रशासनिक कर्मचारी पनि उत्तिकै दोषी बनाउनु गलत रहेको सहभागीको धारणा छ । भ्रष्टाचारसम्बन्धी अध्ययनले नेपाललाई भ्रष्ट मुलुकको रुपमा सूचीकृत गरेकाले भ्रष्टाचार निवारण गर्न सर्वपक्षीय प्रयत्न हुनुपर्ने बताइएको छ ।

राज्यका उच्च निकायदेखि जनताको सामान्य काम गर्ने तहसम्म भ्रष्टाचार छ । राज्यको मुल नीतिको रुपमा लिइने राजनीति क्षेत्रमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ । सरकारी दानापानी खाएर जनताको सेवामा खटिएका कर्मचारीदेखि जनताको सेवा गर्ने घोषणा गरेर सपथ खाएका जनप्रतिनिधिसमेतलाई भ्रष्टाचारको आरोप लाग्ने गरेको छ । राजनीतिक प्रणालीबाटै राज्य सञ्चालन हुने भएकाले यसमा सुधार नभई अन्य क्षेत्रमा सुधार हुन सक्दैन । सेवाग्राहीका सामान्य काम गर्नसमेत घुस माग्न पछि नपर्ने केही राष्ट्रसेवकका कारण सबैजसो राष्ट्रसेवकलाई भ्रष्टाचारीको रुपमा हेर्ने गरिन्छ । अझ विकास निर्माणका काममा भ्रष्टाचार र अनियमितता ठूलो समस्या बनिरहेको छ । अधिकांश ठेक्कापट्टाको काम समयमा सम्पन्न नहुने र गुणस्तरहीन हुनुमा भ्रष्टाचार नै मुख्य कारण बनेको छ । कामको जिम्मा लिने ठेकेदार वा उपभोक्ता समितिका पदाधिकारी अधिकांश कुनै न कुनै राजनीतिक दलको संरक्षणमा रहँदा भ्रष्टाचार मौलाएको छ ।

वर्षौदेखि जरो गाडेर बसेको भ्रष्टाचार एकैपटक अन्त्य हुन सक्दैन । भ्रष्टाचार निवारण गर्न सकेन भने देश अघि बढ्न पनि सक्दैन । कर्मचारीलाई प्रभावित पारेर जनप्रतिनिधि तथा राजनीतिक दलहरुले भ्रष्टाचार गर्ने परिपाटी झाङ्गिदै गएको छ । बिधि र बिधानलाई मिचेर गरिने भ्रष्टाचार रोक्न राज्यका सबै निकाय र सरोकारवाला एकजुट हुनुपर्छ । भ्रष्टाचारबाट पीडित हुने नागरिक नै भएकाले आम नागरिक भ्रष्टाचारविरुद्ध जाग्नु आवश्यक छ । यसका लागि नागरिक सचेतना बढाउनुपर्ने देखिन्छ । नागरिकलाई भ्रष्टाचारविरुद्ध सचेत बनाउन भ्रष्टाचारविरुद्धको दिवसका क्रियाकलाप केन्द्रित हुनुपर्छ ।