Home मुख्य समाचार ७७१ जनाको निःशुल्क आँखा परीक्षण गर्दा ११२ जना मोतीबिन्दुका बिरामी पहिचान

७७१ जनाको निःशुल्क आँखा परीक्षण गर्दा ११२ जना मोतीबिन्दुका बिरामी पहिचान

रौतहट जिल्लाको पहोरा नगरपालिका–८, नरकटियामा आयोजित शिविरमा आँखा परीक्षण गरिँदै ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको आयोजनामा मंगलबार २ स्थानमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा ७ सय ७१ जनाको आँखा परीक्षण गरिएको छ । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी स्वास्थ्य चौकी र रौतहट जिल्लाको पहोरा नगरपालिका–८, नरकटियास्थित ओम माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको हो ।

७ सय ७१ जनाको आँखा परीक्षण गर्दा १ सय १२ जना मोतीबिन्दुका बिरामी पहिचान भएको आँखा शिविर कार्यक्रमका संयोजक प्रमेश प्रधानले जानकारी दिनुभएको छ । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी स्वास्थ्य चौकीमा भएको शिविरमा ४ सय ५० जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरमा ९५ जना मोतिबिन्दुका बिरामी फेला परेको बताइएको छ । यस्तै, रौतहट जिल्लाको पहोरा नगरपालिका–८, नरकटियास्थित ओम माध्यमिक विद्यालयमा भएको शिविरमा १७ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

निःशुल्क आँखा शिविर मंसिर २४ गतेसम्म आयोजना गर्न लागेको प्रधानले जानकारी दिनुभएको छ । परीक्षण शिविरमा मोतिविन्दु पहिचान भएका बिरामीलाई निःशल्क शल्यक्रियाको व्यवस्थासमेत मिलाइएको संयोजक प्रधानले बताउनुभएको छ । रोटरी क्लब अफ हेटौंडा, रोट्र्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा आँखा शिविर भएको उहाँले बताउनुभयो । शिविरमा छनोट गरिएका बिरामीहरुलाई मोतिबिन्दुको शल्यक्रियाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा ल्याइने र बिरामीहरुको अन्तिम परीक्षणपश्चात्मात्र शल्यक्रिया गरिनेछ । बिरामीका लागि आउने, जाने, खाने, बस्ने र मोतिबिन्दुको शल्यक्रिया एवम् औषधि सम्पूर्ण निःशुल्क हुनेछ ।

Exit mobile version