हेटौंडाः नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले मकवानपुरमा रहेको रग्बी खेलाडी र प्रशिक्षकलाई भत्ता दिने भएको छ । बुधबार हेटौंडास्थित मकवानपुर रग्बी संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपप्रमुख तुलसी महर्जनले मकवानपुरको रग्बी खेलाडी र प्रशिक्षकलाई भत्ता दिने बताउनुभएको हो ।
महर्जनका अनुसार हाल मकवानपुर रग्बी संघमा रहेको १० जना खेलाडी र २ जना प्रशिक्षकलाई दैनिक १ सय रुपैयाँका दरले मासिक रु ३ हजार रुपैयाँ भत्ता दिइने जानकारी दिनुभयो । अहिले ६० जना खेलाडी बन्द प्रशिक्षणमा रहेको र केहि दिनको बन्द प्रशिक्षणपछि १२ खेलाडी र २ जना प्रशिक्षकको नामावाली नेपाल खेलकुद विज्ञान प्रतिष्ठान पठाइने मकवानपुर रग्बी संघका अध्यक्ष लिलाकुमार घलानले जानकारी गर्नुभयो ।
स्वागत कार्यक्रम मकवानपुर रग्बी संघका अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्षता तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपप्रमुख तुलसी महर्जनको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका सदस्य, मकवानपुर रग्बी संघका खेल प्रशिक्षक, खेलाडीको समेत उपस्थिति रहेको थियो ।