Home खेलकुद दृष्टिविहिनहरुको विश्वकप क्रिकेटमा सहभागी हुने राष्ट्रिय टिम हेटौंडामा बन्द प्रशिक्षणमा

दृष्टिविहिनहरुको विश्वकप क्रिकेटमा सहभागी हुने राष्ट्रिय टिम हेटौंडामा बन्द प्रशिक्षणमा

शुक्रबार बिहान हुप्रचौरमा बन्द प्रशिक्षणको क्रममा व्याटिङ गर्दै खेलाडी ।

हेटौंडाः दृष्टिविहिनहरुको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि हेटौंडा आइपुगेको छ । शुक्रबार बिहानदेखि हेटौंडाको हुप्रचौरमा बन्द प्रशिक्षण सुरु गरिएको छ । १५ सदस्यीय टिमले दुईसाता हेटौंडामा प्रशिक्षण गर्ने प्रशिक्षक नहेन्द्र निरौलाले जानकारी दिनुभयो ।

आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने टि–२० विश्वकपमा नेपाल र भारतसहित पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी छ । नेपाली टिमको कप्तानी पाल्पाका खिमानन्द गैरेले गर्नुहुनेछ । १५ सदस्यीय टिममा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी छन् ।

शुक्रबार बिहान हुप्रचौरमा बन्द प्रशिक्षणको क्रममा बलिङ गर्दै खेलाडी ।

कप्तान गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् । दृष्टिविहिन क्रिकेट टिममा ४ जना बी–१, ३ जना बी–२ र ४ जना बी–३ समूहका खेलाडी सहभागी गर्न पाउने व्यवस्था रहेको प्रशिक्षक निरौलाले जानकारी दिनुभएको छ ।

Exit mobile version