बानियाँको तोडफोड गरिएको गाडी ।

हेटौंडाः विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ मकवानपुर क्षेत्र १ को (ख) का उम्मेदवार ईन्द्र बहादुर बानियाँ चढेको गाडी तोडफोड गरेको छ । हेटौंडा–१९ दालिमटारस्थित पूर्व–पश्चिम सडकखण्डमा नेकपाका कार्यकर्ताहरुले बानियाँ चढेको गाडी तोडफोड गरेको हो ।

गाडी तोडफोड गरी नेकपा मकवानपुरले बानियाँँमाथि विभिन्न आरोप लगाउँदै विज्ञप्तीसमेत निकालेको छ । नेकपा जिल्ला सचिव उदिप सिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मकवानपुर जिल्लामा कथित उम्मेदवार मध्य भ्रष्ट, राजनीतिक दलाल, ठेकेदार, जनतामा झुटो आश्वासन दिने ठग, गुन्डागर्दीको नाइके समेत रहेको संघ २ को (ख) उम्मेदवार ईन्द्रबहादुर बानियाँ चढेको गाडि तोडफेड गरिएको हो” गाडी तोडफोड गरी सांकेतिक कारबाही मात्र गरिएको विज्ञप्तीमा उल्लेख छ । विप्लपले बानियाँलाई जनतामा विकासको नाममा झुटको खेति गरेको, राजनीतिक संरक्षणमा गुन्डागर्दी संचालन गरेको, परेवाभिरको बाटो समयमा पुरा नगरेको, मनहरी–१, २, ३, ४ को खहरे बाटो पक्की पुलको काम समयमा नगरेको लगायत आरोप लगाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता टेक बहादुर कार्कीले अहिलेसम्म गाडी तोडफोडबारे कुनै जानकारी नआएको बताउनुभएको छ । प्रहरीमा उजुरी आएपछि मात्र उनीहरुको खोजी गरिने उहाँले बताउनुभयो । यसअघि नै विप्लव नेतृत्वको नेकपासहित केही दलहरुले आसन्न निर्वाचन खारेज गर्दै विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ ।