Home मुख्य समाचार समृद्ध समाज दैनिक १३ औं वर्षमा

समृद्ध समाज दैनिक १३ औं वर्षमा

वार्षिकोत्सवको अवसरमा आमन्त्रित अतिथिबीच पुस्तक आदानप्रदान गर्ने क्रममा बालकृष्ण चौलागाईलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै वरिष्ठ पत्रकार प्रताप विष्ट ।

हेटौंडाः हेटौंडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक प्रकाशनको १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । बिहीबार वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा वर्ष कर्मचारीको रुपमा वितरण व्यवस्थापक सञ्जय कुमार श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा हरेक वर्ष झैं समृद्ध समाज दैनिकले सहभागीलाई मायाको चिनोको रुपमा पुस्तक वितरण गरेको छ । पठन संस्कृतिको विकास गर्नका लागि पुस्तक वितरणको अभ्यास गरिएको समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले बताउनुभयो । वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै सम्पादक श्रेष्ठले जवाफदेही र जिम्मेवार पत्रकारिताको अभ्यासमा अग्रसर रहँदै आएको बताउनुभयो । ३ वर्षअघिदेखि कोभिड–१९ को महामारी र पछिल्लो समय आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र प्रभावित भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा समृद्ध समाज दैनिकलाई अझ व्यवस्थित र जनतलाई सूचित गर्ने माध्यमको रुपमा स्थापित गरिँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार प्रताप विष्टले समृद्ध समाज दैनिक स्वतन्त्र र निश्पक्ष भई समाचार र विचार प्रस्तुत गर्ने समाचारपत्रको रुपमा परिचित रहेको उल्लेख गर्नुभयो । आसन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारको मात्रै परीक्षण नभई मिडियाको पनि परीक्षण भइरहेको विष्टले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Exit mobile version