आजबाट समृद्ध समाज राष्ट्रिय दैनिक प्रकाशन भएको १२ वर्ष पूरा हुँदैछ । समृद्ध समाज दैनिक मकवानपुर जिल्लाको परिचित दैनिक समाचारपत्र हो । मकवानपुरमा समृद्ध समाज दैनिकले आफ्नो फरक परिचय बनाएको छ । शिक्षा, स्वास्थ्य, स्थानीय सरकार, उपभोक्ता, आम नागरिकको समस्याका विषय समृद्ध समाज राष्ट्रिय दैनिकको प्राथमिकताका विषयहरु हुन् । समृद्ध समाज दैनिकले आफ्नो उपस्थितिलाई सार्थक तुल्याउँदै जाँदा अर्को एउटा वर्ष पूरा गरेको छ ।

हरेक वर्षको मंसिर १ गते समृद्ध समाज दैनिकका लागि विशेष दिन हो । मंसिर १ अर्थात आजको दिन समृद्ध समाज दैनिकले आफूलाई अझ परिपक्व, समाजप्रति थप जिम्मेवार र जवाफदेही बन्दै जानुपर्ने महसुस गर्छ । समृद्ध समाज दैनिकको सञ्चालन तथा व्यवस्थापन एउटा समूहले गरे पनि यो आम नागरिकको सम्पत्ति हो । आम नागरिकले आफ्ना जायज चासो र सरोकारका विषय समृद्ध समाजका पृष्ठहरुमा पढ्ने अवसरका लागि हामी निरन्तर क्रियाशील छौं ।

पछिल्ला केही वर्ष विशेषगरी कोभिड–१९ र अहिले पनि जारी आर्थिक मन्दी, मूल्यवृद्धिका कारण हामी मुख्यतः आर्थिक दवावमा छौं । आर्थिक पक्षको सवलता बिना जिम्मेवार पत्रकारिता सम्भव छैन । जिम्मेवार पत्रकारिताको अभावमा सञ्चारगृहको आर्थिक पक्ष सवल हुने सम्भावना पनि न्यून रहन्छ । केही समस्याका बाबजुद गएको वर्ष हामीले एउटा महत्वपूर्ण र सकारात्मक प्रयास गर्न सफल भएका छौं ।

गएको वर्ष हामीले विशेषगरी विद्यार्थीलाई आफ्नो पाठकको रुपमा स्थापित गर्ने प्रयास गरेका छौं । यो प्रयासमा हामीलाई निजी विद्यालय सञ्चालक, विद्यार्थी र अभिभावकले साथ दिनुभएको छ । हामीले विद्यालय तहका विद्यार्थीलाई नियमितरुपमा समाचारपत्र उपलब्ध गराउने प्रयास गरिरहेका छौं । यसक्रममा केही विद्यालयले हाम्रो प्रस्तावलाई सकारात्मकरुपमा लिँदै निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई समृद्ध समाज दैनिक नियमित पढ्ने व्यवस्था मिलाइएको छ ।

समाचार र विचारको अध्ययनले सचेत र जिम्मेवार नागरिक समाज निर्माणमा सहयोग पुग्छ । बागमती प्रदेशको राजधानी हेटौंडासहित सिंगो मकवानपुर जिल्ला नै पठन संस्कृतिका हिसाबले सकारात्मक अवस्थामा छैन । पठन संस्कृति भएर सचेत र जिम्मेवार नागरिक समाजको भएको भए पत्रकारितामा हाम्रो प्रयासलाई अझ प्रेरित गर्ने थियो । तर, पठन संस्कृतिकै अभावमा पटक–पटक पत्रकारिताको औचित्यमाथि सजिलै प्रश्न उठाउने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको हामीले सामना गरिरहनुपरेको छ । हामी समाजको समस्यालाई केलाउँदै जाँदा हामीलाई नै नहेर्ने, नबुझ्ने र नपत्याउने समाजको चरित्र देखेर बेला बेलामा निराश पनि हुन्छौं । यद्यपि हामी पहिले सञ्चार माध्यम, सञ्चारकर्मीहामीलाई नै बुझ्ने र अध्ययन गर्ने समाज निर्माणमा अग्रसर हुनु जरुरी छ । जसका लागि विद्यार्थीको हातमा समाचारपत्र पुर्याउने प्रयास केही समयपछि सार्थक सिद्ध हुनेछ ।

१२ औं वर्ष पूरा गर्दै गर्दा केही सकारात्मक अभ्यासको सुरुवातलाई आगामी दिनमा थप सशक्त बनाउने छौं । हामी सदैव हाम्रा पाठक, लेखक, समीक्षक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक र शुभचिन्तकप्रति आभारी छौं । जवाफदेही र जिम्मेवार पत्रकारिताको हाम्रो अभ्यासलाई निरन्तरता दिँदै सचेत र समुन्नत समाज निर्माणमा निरन्तर क्रियाशील रहनेछौं ।