प्रदेश निर्वाचन कार्यालय परिसरमा मंगलबार निर्वाचन सामग्री मिलाउँदै कर्मचारीको समूह ।

हेटौंडाः मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन आयोगको कार्यालयबाट सामग्री लिन सुरु गरेका छन् । बागमती प्रदेश निर्वाचन कार्यालयले सोमबारदेखि नै निर्वाचन सामग्री वितरण कार्य सुरु गरेको हो ।

निर्वाचन सामग्री बुझिलिएको पत्र बुझ्दै कर्मचारी ।

जिल्लाको दुर्गम र दूरीका हिसाबले टाढाको मतदानस्थलमा खटिने कर्मचारीलाई मतदानस्थल पुग्न आवश्यक तयारी छिटो गर्न सहज होस् भनी निर्वाचन सामग्री छिट्टै वितरण गर्न सुरु गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयले ७३ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभएको छ ।

निर्वाचन सामग्री गाडीमा राख्दै कर्मचारी ।

मतपत्र भने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले वितरण गर्नेछ । मतपत्र बुधबार र बिहीबार दुईदिन वितरण गरिने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार छन् ।

निर्वाचन सामग्री लिन निर्वाचन कार्यालयमा पुग्नुभएका हेटौंडा उपमहानगरपालिकाका भीमप्रसाद तिमल्सिनाले स्थानीय तहको निर्वाचन सम्पन्न गरेको ६ महिना हुँदै गर्दा अर्को निर्वाचनको काम गर्न सहज भएको बताउनुभएको छ । मकवानपुरमा १ सय ६७ वटा मतदानस्थल र दुईवटा अस्थायी मतदानस्थल कायम गरिएको छ भने ३ सय ६४ वटा मतदान केन्द्र कायम गरिएको छ । मकवानपुरमा निर्वाचनका लागि २ हजार ९ सय १८ जना कर्मचारी खटिएका छन् ।