हेटौंडाः कर्जा बीमा कार्यक्रमबाट ऋणी र ऋणीका परिवारलाई राहत मिलेको छ । हेटौंडा–७, हरियालीटोलका अविनाश लुङ्बाले हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिने क्रममा कर्जा बीमा गर्नुभएको थियो । लुङ्बाको दुर्घटनामा परी असोज १२ गते मृत्यु भयो । लुङ्बाको मृत्यु भएपछि बीमा वापतको रकम प्राप्त हुँदा परिवारलाई ऋण तिर्ने चुनौति भने भएन ।
एक लाख ५० हजार रुपैयाँ ऋण लिनुभएका लुङ्बाको दुर्घटनामा मृत्यु भएपछि कर्जा बीमावापत ३ लाख रुपैयाँ प्राप्त भयो । बीमा रकम प्राप्त भएपछि लुङ्बाको परिवारले बाँकी कर्जा ५४ हजार ५ सय रुपैयाँ भुक्तानी गरेर बाँकी पैसा प्राप्त गरेको छ । यस्तै बीमा कम्पनिले किरिया खर्च वापत १० हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । कात्तिक २३ गते सहकारी अध्यक्ष प्रतिमा श्रेष्ठ, सचिव बालकृष्ण न्यौपाने लुङ्बाको घरै पुगेर लुङ्बाकी श्रीमति कल्पना थिङलाई बीमावापतको रकम हस्तान्तरण गर्नुभएको छ ।
पछिल्लो समय सहकारीले कर्जा बीमालाई अनिवार्य नै गरेको सहकारीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । कर्जा बीमाले सहकारीको ऋण रकमको सुरक्षा हुनुका साथै ऋणिको परिवारलाई पनि राहत मिलेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । कर्जा बीमा कार्यक्रममा कालगतिले मृत्यु भए ऋण रकम बराबर रकम बीमा कम्पनिले भुक्तानी गर्नेछ भने दुर्घटना भएर मृत्यु भएकामा ऋण लिएको रकमको दोब्बर रकम भुक्तानी गर्नेछ ।
ग्रामीण बहुउद्देश्यीय सहकारीले २०७६ साल पुस महिनादेखि नै सिटिजन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा कर्जा बीमा कार्यक्रम लागु गरेको छ । यसअघि पनि एकजना ऋणिको मृत्यु भएपछि बीमा कम्पनिले रकम भुक्तान गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।