हेटौंडाः नवसर्जक साहित्य चौतारीको आयोजनामा रचना वाचन कार्यक्रम भएको छ । हरेक महिनाको अन्तिम शनिबार जुम आयोजना गरिने कार्यक्रम शनिबार भएको हो । नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रशन्ना चौलागाईंको सभाध्यक्षता तथा संस्थाका सल्लाहकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा नियमित कार्यक्रम भएको हो ।
कार्यक्रममा वाचन गरिएका रचनाको समीक्षा संस्थाका सल्लाहकार डीबी बर्तौलाले गर्नुभयो । नियमितरुपमा नवस्रष्टालाई पठन संस्कृतिको विकासका लागि एक जनाबाट पुस्तक चर्चा गर्ने गरिएकाले संस्थाकी केन्द्रिय सदस्य आयुष्मा भण्डारीले डीबी बर्तौलाको दोस्रो मुक्तक संग्रह ‘पसिनाको आभा’ र कृष्ण अविरलको ‘रक्तकुण्ड’ उपन्यासको अध्ययन गरी परिचर्चा गर्नु भएको थियो ।
कार्यक्रममा जोशिका कँडेल, रुबि गुप्ता, उषाकिरण अधिकारी, समर्पण न्यौपाने, विवश भट्ट चेत, रौनक साह र विवेक पनेरुले कविता, गजल र मुक्तकहरु वाचन गर्नुभएको थियो । वाचन गरिएका रचना र पुस्तक चर्चाको समीक्षा डीबी बर्तौलाले गर्नु भएको थियो । उहाँले लेख्नु अघि निरन्तर पठन कार्यमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नुहुँदै लेखन कार्यलाई पनि जोड दिन अनुरोध गर्नु भयो ।
प्रमुख अतिथि रमेशमोहन अधिकारीले नवसर्जक भाइबहिनीहरुलाई हौसला प्रदान गर्दै निरन्तर पठन संस्कृतिको विकास गर्दै लैजानु पर्ने र पुस्तक चर्चा गर्दा जसको पुस्तकको चर्चा गरिन्छ त्यस पुस्तकको लेखकलाई समेत बोलाउँदा राम्रो हुने कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा परिकल्पनाकार तथा संरक्षक दीपक गौतम र सल्लाहकार विष्णु न्यौपानेसमेतको उपस्थिति रहेको थियो । संस्थाले भोलि आइतबार लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती जुममार्फत गर्ने जनाएको छ ।