स्नेहा रिमाल कक्षा : ९,नवोदय शिशु सदन

तिमीलाई थाहा छ ? हलेसी त कस्तो रमाइलो ठाउँ हो रे नि त ? त्यहाँ त ठूला र अँध्यारा गुफाहरु पनि छन् रे, मेरी साथी सतिस्माले मलाई हलेसीको बारेमा सुनाई । उसकी काकी हलेसी घुम्न गएकी रहिछन् । अनि उसलाई धेरै कुराहरु भनिछन् । त्यो सुनेपछि मलाई पनि हलेसी घुम्न मन लाग्यो । मैले मनमनै हलेसीको दृश्यलाई कल्पना गरेँ । मेरो परीक्षा पनि सकिएको थियो । छुट्टी भएका कारण म घर मै थिएँ । कतै पनि गएकी थिइनँ । मेरो इच्छा भगवानले सुनिदिनुभयो । मैले काकी, काका, ममी, बाबा कुरा गरेको सुनेँ । उहाँहरु हलेसी जाने कुरा गरिरहनुभएको थियो । त्यो कुरा सुनेर मेरो अनुहारमा छुट्टै उमङ्ग छायो । मनमनै खुसी भएँ ।

नेपाल ढुङ्गे युगदेखि नै देवभूमि तथा तपोभूमिको नामले चिनिँदै आएको कुरा त सर्वविदितै छ । आफ्नै मौलिक कला, धर्म, संस्कृति, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको कारणले नै नेपालले विश्वसामु आफ्नो चिनारी कायम गरेको हो । देशका विभिन्न भागमा छरिएर रहेका प्राकृतिक देवालय, मठमन्दिर, गुम्बा तथा ऐतिहासिक स्थलहरु धार्मिक तथा पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बनेका छन् ।

हो, यस्तै धार्मिक तथा सांस्कृतिक गन्तव्यको रुपमा रहेको सगरमाथा अञ्चलको खोटाङ जिल्लामा अवस्थित हलेसी महादेवको गुफा दर्शनका लागि हामीले बिहानको ५ बजे आफ्नो घरबाट हलेसीको यात्रालाई सुरु गर्यौँ । यात्रा सुरु गर्दा गर्दै मेरो मनमा खुसी बढ्न थाल्यो । कस्तो होला त हलेशी, के हलेशी सतिस्माले भने जस्तै रमणीय होला त ? मेरे मनले मलाई नै प्रश्न गर्न थाल्यो । हाम्रो यात्रा सँगसँगै मलाई एउटा प्रश्न सोध्न मन लाग्यो, बाबा १ मलाई हलेसीको बारेमा केही भन्नुस् न । मैले बाबालाई सोधेँ । “खोटाङको सबैभन्दा प्रसिद्ध गुफामा भस्मासुर राक्षस लुकेर बसेको थियो, महादेव त्यो राक्षसलाई मार्न त्यहाँ गएका थिए । उहाँले त्यहाँ धेरै तपस्या गर्नुभएको थियो । त्यसैले हलेसी महादेव भनिन्छ ।” बाबाले भन्नुभयो । मैले फेरि सोधेँ “बाबा त्यहाँको गुफाहरुको बारेमा भन्नुस् न ।” त्यहाँ तीनवटा रहस्यमय गुफाहरु छन् जसलाई महादेवको तीन आँखा भनेर पनि चिनिन्छ । गुफाहरुलाई हिन्दुहरुले हलेसी महादेव मन्दिर भन्छन्, जसले तिनीहरुलाई शिवको रुपम महादेवसँग जोड्छन् ।” यति भनेपछि मैले केही कुराहरु थाहा पाएँ ।

कुरा गर्दा गर्दै हामी पथलैया आइपुग्यौं । अचानक सबैजना चिच्याउन थाल्नुभयो । मैले त के भएको थियो भने अत्तो, पत्तो पाइनँ । त्यसपछि मलाई थाहा भयो कि हाम्रो गाडीको दुर्घटना भएको रहेछ । हामी चढेको गाडी एउटा गाईसँग ठोकिएछ । गाई त घाइते भएछ, गाडीको एउटा बत्ती पनि फुटेछ । म त हलेसीको बारेमा सोच्दै थिएँ । त्यही भएर पनि होला म त्यही गाडीमा बसेर पनि केही थाहा पाइनँ । एक्कासि सबैजना हाम्रो वरिपरि आएर हेर्न थाल्नुभयो । मेरो मनमा एक्कासि डर पलाउन थाल्यो । कोलाहल मच्चियो । सबैको अनुहारमा एउटा डर पलाएर आयो । त्यो दृश्य एकदमै भयानक थियो ।

“हामीले अहिलेसम्म कुखुरा पनि मारेका छैनौँ, तपाईहरु यहाँ आएर गाईलाई मार्ने ? गाई त लक्ष्मी हो” एउटा काका झर्किदै हामीतर्फ आउनुभयो । उहाँको गालामा गम्सा र हातमा ब्रस थियो । उहाँ निकै ज्याङ्गो र डरलाग्दो हुनुहुन्थ्यो । उहाँ आएपछि त्यहाँ सन्नाटा छायो । त्यसपछि सबैजना उहाँसँग कुरा गर्न थाल्नुभयो । एक डेढ घण्टामा सबै कुरा शान्त भयो । अनि हामीले आफ्नो यात्रालाई जारी राख्यौँ । यात्रा जारी नै थियो अनि विस्तारै मेरो मनमा पलाएको डर पनि कम हुँदै गयो । मैले दृश्यलाई हेरेर मनोरञ्जन गर्न थालेँ । जाँदा जाँदै मैले धेरै पहाडहरुको दृश्य मेरो आँखामा कैद भए । त्यो अप्ठ्यारो बाटोबाट देखिएको त्यो दृश्य मेरा लागि पलपल सम्झनाका ढिक्काहरु भएका छन् ।

हामीले दुधकोशीमा पुगेर आफ्नो यात्रालाई एकछिन रोक्यौँ । दुधकोशीको त्यो सङ्ग्लो दुधजस्तो पानीले मेरो मन लोभियो । हामी सबैले एकछिन, त्यहाँ आराम गर्यौँ । दुधकोशीको चिसो पानीमा मुख धुँदै शरीरलाई शितलता प्रदान गर्दै खोलामा पानीसँग खेल्यौं । त्यो सफा खोला र त्यहाँबाट देखिएको अग्लो पहाडको सम्झना बिर्सना सकिँदैन । त्यसपछि हामीले आफ्नो यात्रालाई जारी राख्दै ओखलढुङ्गा जिल्ला पस्यौं । त्यहाँको बोट विरुवा बाटो घाटोको त के कुरा गर्नु र । १२ घण्टा हामीले धैर्य गर्यौँ र हामीले गरेको धैर्य समाप्त भयो । साँझ पख हामी हलेसी मन्दिरमा आरती गर्न पुगयौँ । निकै रमाइलो थियो हलेसी । आरती सकिएपछि हामी सबैजना सँगै बसेर खाना पिना गर्यौँ र दिनभरिको थकानलाई मेट्यौँ । त्यहाँको मिठो हावा र दृश्यको आनन्दलाई हामीले महसुस गर्यौँ ।

भोलिपल्ट बिहान नुहाई, धुवाई गरेर हामी पूजा गर्न गयौँ । त्यहाँ निकै लामो लाइन थियो । त्यो गुफा भित्रको दृश्य हेर्न र पूजा गर्न मेरो मन निकै आतुर थियो । सतिस्माले भने जस्तै हलेसी निकै रमाइलो ठाउँ रहेछ । त्यहाँ त गुफा भित्र मन्दिर रहेछ । हामीले पूजा गर्यौँ र सबै गुफाहरु घुम्यौँ । ती गुफाहरु निकै ठूला र अँध्यारा थिए । ती गुफाभित्र धेरै रहस्यहरु लुकेका थिए । पूजा आजा सकिएपछि त्यहाँ सबै ठाउँको दृश्य अवलोकन गर्यौ र हामी फर्कियौँ । फर्किने क्रममा बाटोमा गाडी रोक्दै अङ्गेरी र ऐँसेलु खाँदै सिमसिम पानीमा रमाउँदै खुरकोट बजार घुम्यौँ । आफ्नो यात्रालाई जारी राख्दै हामीले ऐतिहासिक ठाउँ सिन्धुली गढीको अवलोकन गर्न पायौँ । त्यहाँको चिसो हावा खाँदै हिमाल र पहाडको मनमोहक दृश्यसँग रमाउँदै घर फर्किने क्रमलाई जोड्यौँ । नयाँ नयाँ मन्दिर घुम्दै साँझमा म घर आइपुगेँ । यात्रा छोटो भएपनि बाटो लामो थियो र यात्रा अवस्मरणीय थियो ।

जे होस् नेपालका विभिन्न देवालयहरूमध्ये एक महत्वपूर्ण रहेछ यस देवालय पनि । नेपालले त्यस ठाउँको विकास गर्ने हो भने र पर्यटकको गन्तव्य बनाउने हो भने बाटोको मर्मत गर्नुपर्ने देखिन्छ । साथै नेपाललाई विश्वसामु चिनाउने आधार भनेको नै नेपालको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक कुराहरुको विकास गर्नमा जोड दिनु आवश्यक देखिन्छ ।