स्वस्तिका तिमल्सिना कक्षा १२, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

म कस्ती नारी ?
एक त गर्भ मै मारिने
छोरीको जात हुँ म
अर्को जन्म लिएपनि
यो समाजले मार्छ रेटीरेटी
कहिले रजस्वला हुँदाको बेलामा त
कहिले व्यवहारमा
मलाई सुधार्न नसक्ने
मेरा बाआमा छन् अरे

ए समाजका नाइकेहेरु
म मात्तिएको कहाँ छु र ?
आँगन पोली अर्कैले लगेपछि
उसको बन्धनमा बाँधिनुपर्ने बाध्यता
म कस्ती अबोध नारी

घाँस दाउरा बारी खेतमा
काम दिनैभरि गरेर
कहिले नथनक्ने म
आफ्नै पतिको हातबाट
सुम्ला सजिँदा पनि
म दुःखी भएकी छैन
सबैको मुहारमा
हाँसो छर्न खोज्दा खोज्दै पनि
आफ्नै आँखाको आँसु
धरी पुछ्न भ्याएको छैन

आज चिन्ता नगर भन्ने
मेरा बाबो घर छोडी
आफ्नै घर बसाल्न आएकी म
छोरी जन्माइस् भन्दै
मट्टितेल छर्किदिने सासू
दाइजो ल्याइनस् भन्दै
घरबाट निकाल्ने पति
सासूसँग जायज कुरामा बोल्दा
कस्तो चोथाले भन्ने समाज
खानामा नुन चर्को हुँदा
थाल फाँक्ने नन्द
बजार खर्च जान पैसा नदिँदा
दाजुलाई नानाभाती कुरा लगाउने देवर
अब भन नेता म के गरुँ ?
साच्चै म
कस्ती केटी नै हुँ त ?