हेटौंडाः मिश्रित निर्वाचन प्रणालीकै कारण गठबन्धन गर्नु परेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभएको छ । प्रेस युनियन मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन नसक्ने उल्लेख गर्नुहुँदै निर्वाचनपछि सरकार गठनको प्रक्रियालाई समेत सजिलो हुने गरी गठबन्धन गरिएको स्पष्ट पार्नुभयो ।
‘मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको स्पष्ट बहुमत आउने अवस्था हुन्न’, महतले भन्नुभयो, ‘गठबन्धन गरेर निर्वाचनमा जाँदा बहुमतसहित सरकार बनाउन सहज हुनेछ ।’ उहाँले निर्वाचनपछि यही गठबन्धनमा कांग्रेस नेतृत्वको सरकार गठन हुने दावी पनि गर्नुभयो । कांग्रेस नेतृत्वको गठबन्धनले जिते संविधानको रक्षासँगै मुलुक संविधानको बाटोमा अगाडि बढ्ने महतको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुहुँदै प्रवक्ता महतले नेकपा एमालेको नेतृत्वमा ओली सरकार बने देश उल्टो गतिमा रहने तर्क गर्नुभयो । ओलीले कुरा मात्रै गर्ने गरेको भन्नुहुँदै महतले कांग्रेस नेतृत्वले काम गरेर देखाउने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’, नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य रमेश रायमाझी, बागमती प्रदेश समितिका महामन्त्री राजु श्रेष्ठ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको पनि उपस्थिति रहेको थियो ।