हेटौंडाः हेटौंडा—११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयले प्राविधिक धारतर्फको ३ वर्षे खाद्य प्रविधि (डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी) सम्बन्धी विषयमा पहिले भर्ना हुने १० जनालाई निशुल्क भर्नाको व्यवस्था गरेको छ ।
यसैवर्षबाट पठनपाठन हुन लागेको विषयमा ४० जना विद्यार्थीले पढ्न पाउनेछन् । पहिलो वर्ष भएकोले विद्यार्थीलाई आकर्षित गर्न छुटको व्यवस्था गरेको प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । विद्यार्थी भर्ना कार्यक्रम जारी रहेको प्रधानाध्यापक भण्डारीको भनाइ छ ।
मकवानपुर जिल्लाका मात्र नभई मकवानपुर भन्दा बाहिरी जिल्लाका विद्यार्थी पनि भर्ना गर्न इच्छुक भई सोधपुछ गर्न आइरहेको उहाँले बताउनुभयो । प्राविधिक विषय भएकोले विद्यार्थीले अध्ययन पूरा गरेसँगै रोजगारीको अवसर रहने प्रधानाध्यापक भण्डारीको भनाइ छ ।