राजीव सापकोटाको अन्तर्राष्ट्रिय स्वयम्सेवकको परिचयपत्र ।

हेटौंडा–१६, हटियाका राजीव सापकोटा कतार विश्वकप फुटबलमा सहभागी हुँदै हुनुहुन्छ । मंसिर ५ गतेदेखि सुरु हुने विश्वकप प्रतियोगितामा अन्तर्राष्ट्रिय स्वयम्सेवकको रुपमा सापकोटा कतार जान लाग्नुभएको हो । सापकोटा मंसिर १ गते कतार जानुहुनेछ ।

हेटौंडा–१६, हटियास्थित पशुपति स्पोर्टस् क्लबका पूर्वअध्यक्ष समेत रहनुभएका सापकोटा फुटबलप्रेमी हुनुहुन्छ । एसियाली मुलुकमै विश्वकप फुटबल आयोजना हुँदै गर्दा कतारले अन्तर्राष्ट्रिय स्वयम्सेवक हुन चाहनेबाट आवेदन आव्हान गरेको थियो । ६ महिनाअघि अनलाइनमार्फत आवेदन दिनुभएका सापकोटा अन्तर्राष्ट्रिय स्वयम्सेवकको रुपमा चयन हुनुभएपछि अनलाइनमार्फत नै तालिममा समेत सहभागी भइरहनुभएको छ ।

अहिले पनि तालिम चलिरहेको जानकारी दिनुहुँदै सापकोटाले भन्नुभयो, ‘फुटबलमा रुचि भएका कारण एसियाली मुलुकमै विश्वकप आयोजना हुने कुरा हाम्रा लागि पनि खुसीको विषय थियो । विश्वकपका बारेमा अनलाइनमार्फत जानकारी लिने क्रममा अन्तर्राष्ट्रिय स्वयम्सेवकका लागि आवेदन आव्हान गरेको देखेँ । आवेदन पनि दिएँ । विश्वकपमा सहभागी हुने अवसर पनि पाएँ ।’

२ महिनादेखि अनलाइनमार्फत नै तालिम भइरहेको सापकोटा बताउनुहुन्छ । सापकोटा कतारको लुसियल स्टेडियममा स्वयम्सेवकको रुपमा खटिनु हुनेछ । जहाँ कतार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । तालिममा स्वयम्सेवकको रुपमा गर्नुपर्ने कामका बारेमा जानकारी गराएको उल्लेख गर्नुहुँदै सापकोटाले भन्नुभयो, ‘दर्शकलाई सहज हुने वातावरण तयार पार्नुपर्ने भूमिका हाम्रो हुने बताइएको छ । विश्वकप फुटबलका खेल हेर्न रंगशालामा प्रवेशपछि दर्शकलाई सहजीकरण गर्ने, अपाङ्गता भएका व्यक्ति रंगशालामा आए उनीहरुलाई सहयोग गर्ने जिम्मेवारी हाम्रो हुनेछ ।’

मंसिर १ गते कतार प्रस्थान गर्नुहुने सापकोटा पुस ५ गते नेपाल फर्कनु हुनेछ । मंसिर ४ गते स्वयम्सेवकको भूमिकाका बारेमा रंगशालामै अभ्यास समेत गरिने सापकोटाले जानकारी दिनुभयो । फुटबलको महाकुम्भमा सहभागी हुन र सक्दो सहयोग समेत गर्न पाउँदा खुसी लागेको बताउनुहुँदै सापकोटाले भन्नुभयो, ‘फुटबलप्रेमीका लागि यो भन्दा खुसीको कुरा अरु के हुन सक्छ र ।’