हेटौंडाः टोलस्तरमा मतदाता शिक्षा सञ्चालनका लागि वडास्तरीय समितिले सक्रियता बढाएको छ । पालिकास्तरीय समितिले वडास्तरीय मतदाता शिक्षा समितिलाई परिचालन गरेसँगै वडास्तरीय समितिले टोल विकास संस्था वडा समन्वय समिति र स्वास्थ्य स्वयम्सेविकामार्फत् टोलस्तरमा मतदाता शिक्षा सन्चालन गर्न लागेको हो ।
हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडामा बुधबार बिहान टोल विकास संस्था वडा समन्वय समितिका पदाधिकारी र स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरण गरी टोलस्तरमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । वडा अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडा सचिव गोपिनी गौतमले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा वडा सदस्य ज्ञान बहादुर थापा, रञ्जीता सिलवाल, रामबहादुर राईको पनि उपस्थिति रहेको थियो ।
मतदाता सूचिमा नाम भएका सबैलाई मतदान कार्यमा सहभागी गराउन र मतदानका क्रममा कुनै किसिमको कमजोरी नभई मत बदर नहुने गरी मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने वडा सचिव गौतमले बताउनुभयो । मतदातालाई मतदानको महत्व बुझाउँदै मतदान केन्द्रसम्म पुगेर मतदान गर्ने वातावरण बनाउन आवश्यक हुने उल्लेख गर्नुहुँदै वडा सचिव गौतमले भन्नुभयो, “मतदाता शिक्षा सञ्चालन गर्दै गर्दा मतदातालाई मतदान गर्ने तरिका, मत बदर नहोस् भनी ध्यान दिनुपर्ने पक्षका बारेमा बुझाउनुपर्छ । मतदातालाई चुनावी प्रतिस्पर्धामा सहभागी यो या त्यो दलको चुनाव चिन्हमा मतदान गर्न भनेर प्रचार नगर्न पनि आग्रह गर्दछु ।”
५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले आम मतदातालाई मतदानमा सहभागी गराउन प्रभावकारी मतदाता शिक्षा जरुरी रहेको औँल्याउनुभयो । उहाँले वडाबाट बढीभन्दा बढी मतदाताले मतदान गर्ने र कम भन्दा कम मत बदर हुने स्थिति सिर्जना गर्न पनि मतदाता शिक्षाको आवश्यकता रहेको औँल्याउनुभयो । यसैबीच टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष टीका बहादुर खड्काले वडामा रहेका टोल विकास संस्थाहरुलाई क्लस्टरमा विभाजन गरेर हरेक मतदाताले बुझ्ने गरी मतदाता शिक्षा सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष खड्काले टोल विकास संस्थाका पदाधिकारीसँग समन्वय गरेर मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिने पनि बताउनु भएको छ ।