हेटौंडाः हेटौंडामा रगतको अभाव भएको छ । रगतको माग धेरै भएकाले रक्तसञ्चार केन्द्र हेटौंडाले रक्तदान गर्न आह्वान गरेको छ ।
अहिले बजारमा रगतको अभाव र माग बढी भएकाले रक्तदान गर्न आह्वान गरिएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दहालले बताउनुभयो । अहिले रगतको अत्यधिक मागसँगै अभावको स्थिति रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार तिहार अगाडि अर्थात कात्तिक ५ गते एउटा रक्तदान कार्यक्रम भएपछि रक्तदान कार्यक्रम भएको छैन । दैनिक रुपमा रगतको माग बढिरहँदा रक्तसञ्चार केन्द्रमा रगत नभएको उहाँले बताउनुभयो ।
यता रक्तसञ्चार केन्द्रले आवश्यक परेका बेला बोलाउँदा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने समूहका रक्तदातालाई पनि डेंगु संक्रमण भएकाले अभावका बेला रगतको मागअनुसार आपुर्ति व्यवस्था मिलाउन गाह्रो भएको उहाँको भनाई छ । अहिले ‘ओ’ पोजेटिभ समूहको रगत मात्र केन्द्रसँग मौज्दातमा रहेको दाहालले जानकारी दिनुभयो । ‘ए’ पोजेटिभ/नेगेटिभ, ‘बि’ पोजेटिभ/नेगेटिभ समूहको रगत अभाव भएको छ ।