हेटौंडाः सोमबार बागमती प्रदेशमा विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन र रसुवा जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९ मिलडाँडामा खाटबाट लडी एक महिलाको मृत्यु भएको छ । ८४ वर्षीया दिलमाया तामाङको खाटबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चितवनकै माडी नगरपालिका–९ गोबिन्दबस्मा काठले लागी एक जनाको मृत्यु भएको छ । देबी दुराको निर्माणाधिन घरमा काठ चिर्ने ६५ वर्षीय थर्का बहादुर गुरुङको मृत्यु भएको हो । काठ चिर्ने क्रममा काठले टाउकोमा लाग्दा गम्भिर घाईते भई उपचारका लागि बघौडा अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेमा पानी सर्केर सुब्बा तामाङको मृत्यु भएको छ । आफ्नै घरमा पानी पिउने क्रममा सर्किएर बेहोस भई मृत्यु भएको हो । ५३ वर्षीय तामाङलाई जिल्ला अस्पताल धुन्चे लगेकोमा उपचारका क्रममा राती साढे १० बजेको समयमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।











