हेटौंडाः गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ मेयर पदमा निर्वाचित भए । बालेन र हर्कको विजयपछि स्वतन्त्र उम्मेदवारको चर्चा चुलिएको छ । कुनै दलको उम्मेदवार नभई स्वतन्त्ररुपमा उम्मेदवारी दिएर महानगरमा बालेन र उपमहानगरमा हर्कको विजयले स्वतन्त्र उम्मेदवारीलाई सहज मान्ने प्रवृत्ति बढेको छ ।

स्थानीय तहको निर्वाचन सकिएको ६ महिनापछि नै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका बालेन र हर्कले गरेका कामको चर्चाकै कारण पनि स्वतन्त्र उम्मेदवारीप्रति आकर्षण बढ्नु स्वभाविक होला तर, स्वतन्त्र उम्मेदवार भई निर्वाचित बालेन र हर्कको सतही बुझाई मात्रै राख्ने हो भने अहिलेका स्वतन्त्ररुपमा उम्मेदवारी दिनेहरुले सायद उम्मेदवारी दिने आँट गर्ने थिएनन् ।

यतिबेला स्वतन्त्ररुपमा उम्मेदवार हुनेको भीडलाई हेर्दा दलीय व्यवस्थालाई ठूलै धक्का दिने अनुमान लगाउनेहरु पनि प्रसस्तै छन् । राजनीतिक दलका केही नेता, कार्यकर्ता पनि स्वतन्त्र उम्मेदवारको भीड देखेर डराएका छन् । स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गर्नेको भीड हुनुमा मुख्यतः राजनीतिक दलहरुको अकर्मण्यता पनि एउटा कारण हो । राजनीतिक दलहरुले प्राप्त अवसरलाई जनताको पक्षमा काम गर्न भन्दा आफ्नो सीमित समूहको लाभका लागि दुरुपयोग गर्दै जाँदा राजनीतिक दल, तिनका नेता, कार्यकर्ताप्रतिको आक्रोशको फाइदाको लोभमा स्वतन्त्र उम्मेदवारहरु आशावादी देखिएका छन् ।

स्वतन्त्र उम्मेदवार हुने अधिकार हरेक नागरिकलाई छ । पछिल्लो परिस्थितिले स्वतन्त्र उम्मेदवारीको आवश्यकतालाई पनि स्वभाविक मान्न सजिलो देखिन्छ । तर, स्वतन्त्र उम्मेदवारी मात्रैले निराश जनताको अनुहारमा आशा जगाउन सकिन्न । दलीय व्यवस्थाभित्र देखिएका समस्याको आलोचना गरेजस्तै सजिलो हुन्न जनताको अपेक्षा पूरा गर्न । जनताको असन्तुष्टि आजको मात्रै होइन । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएयता जनताले आशा गरेका कुनै पनि समूहले जनतालाई न्यूनतम् सन्तुष्टि दिन सकेको छैन । २०४६ पछि प्रजातन्त्रवादीलाई जनताले जिताए । २०६२÷६३ को जनआन्दोलनपछि माओवादीलाई जिताए । २०७४ मा आइपुग्दा कम्युनिष्टलाई जिताए । तर, जनताका निराशामा आशाको किरण छाउन सकेन ।

२०७९ को स्थानीय तहको निर्वाचनमा बालेन र हर्कको विजयले स्वतन्त्रको लहर देखिएको छ । बालेन र हर्कको चरित्रलाई मात्रै नियाल्ने हो भने स्वतन्त्र सार नभई रुपमा हेर्नुपर्ने स्पष्ट हुन्छ । स्वतन्त्र उम्मेदवार बालेन असाध्यै व्यवस्थित उम्मेदवारको रुपमा हेर्न सकिन्छ भने हर्क एक किसिमको पागलपन भएको उम्मेदवारको रुपमा हेर्न सकिन्छ । २०७४ को स्थानीय निर्वाचनमा केही समय मत मात्रै पाएका हर्कले त्यसपछिका हरेक दिन जनताका समस्या, पीडा, समाजका वेथिति, विसंगतिका बारेमा सार्वजनिक स्थलमा बताउँदै हिँडेको देखिन्छ । यता बालेन भने २०७४ को निर्वाचनपछि नै २०७९ को निर्वाचनका लागि आफू एक्लो नभई विज्ञ समूह नै बनाएर निर्वाचनको तयारीमा लागेको देखिन्छ ।

बालेन आफ्नो विज्ञ टोलीकै रणनीति, नीति, योजनामा काम गर्ने एउटा पात्रको रुपमा मात्रै क्रियाशील छन् । एकजना स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको नेतृत्व गरेको ६ महिनामा स्थापित नाम, सरकार, मानक बनिसकेका छन् । स्थापित राजनीतिक दललाई विस्थापित गरेर आफू स्थापित मात्रै नभई आफ्ना योजना, नीति र कार्यक्रमलाई समेत स्थापित गर्न बालेन अग्रसर छन् । हर्क पनि आफ्नो मुद्दामा लडेर, जुधेर अगाडि बढेका छन् ।

बालेन र हर्कका चरित्रको सार समेत बुझ्न नसक्नेहरु संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको नाममा जनतामा जाँदै गर्दा भोलिका दिनमा स्वतन्त्र उम्मेदवार पनि जनताको समस्या हल गर्ने खालका भएनन् भनेर थप निराशा बढाउने कारण नबनोस् । यसो भनिरहँदा स्वतन्त्र उम्मेदवारको विरोध नभई उनीहरुको अपूर्णता, तयारीको अपर्याप्ततालाई औँल्याउन खोजिएको हो । राज्य व्यवस्थालाई बुझेर, विद्यमान परिस्थितिको सामना गर्दै मुख्यतः नीति र कानुनमा निर्वाह गर्न सकिने भूमिकाका बारेमा बुझाएर स्वतन्त्रहरुको एउटा जालो नै बनाएर उम्मेदवारी दिई मतदातासम्म जान सकेको भए केही उल्लेखनीय नतीजाको आशा गर्न सकिन्थ्यो । तर, बालेन र हर्कहरुले बनाएको स्वतन्त्र उम्मेदवारको लोकप्रियताको लोभले मात्रै स्वतन्त्र हुन खोज्नेहरु राजनीतिलाई अझ जोखिमतिर धकेल्ने एउटा सुत्र मात्रै हुने खतरा छ ।