जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौंडाः मकवानपुर जिल्लामा पछिल्लो ५ दिनमा ४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने २ महिला छन् भने २ पुरुष छन् । आत्महत्याका घटना उल्लेख्य भए पनि यसको न्यूनीकरणमा स्थानीय, प्रदेश र संघीय सरकारदेखि नागरिक स्तरबाट पनि उल्लेखनीय प्रयास हुन सकेको छैन ।

कात्तिक ५ गते शनिबार हेटौंडा–८ मा ४० वर्षीय महिलाले आत्महत्या गरेकी थिइन् भने कात्तिक ६ गते आइतबार बकैया गाउँपालिका–१, धियाँलकी ४६ वर्षीया महिला र हेटौंडा–९ मा ३९ वर्षीय एक पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यस्तै कात्तिक ८ गते सोमबार कैलाश गाउँपालिका–७ मा २१ वर्षीय युवकले आत्महत्या गरेका छन् ।

कात्तिक ५ गते आत्महत्या गर्ने महिलाको छोराले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्दै २ जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भनी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मृतकका छोराको जाहेरीका आधारमा कात्तिक ६ गते साँझ हेटौंडा–८ की २७ वर्षीया गंगा सापकोटा देवकोटालाई पक्राउ गरिएको कार्कीको भनाइ छ । अर्का एकजना भने फरार रहेको र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

आर्थिक लेनदेनका क्रममा पैसा फिर्ता गर्न आनाकानी गरेपछि महिलाले आत्महत्या गरेको स्थानीयको भनाइ छ । पैसा लिएर फिर्ता नदिएकै कारण आत्महत्या गर्न बाध्य भएको भन्दै मृतकका छोराले प्रहरीमा जाहेरी दिएको हो । आर्थिक कारोबारमा समस्या भएकै कारण पछिल्लो समय आत्महत्याको घटना बढेको देखिन्छ । यसका साथै घरायसी विवाद, असफलता जस्ता कारणले पनि आत्महत्या गर्नेहरु छन् । आत्महत्याका घटनालाई लिएर यसका समस्यालाई पहिचान गर्ने र आत्महत्याको घटना न्यूनीकरण गर्न सरकार र समुदायस्तरमा आवश्यक कार्य गर्नु जरुरी भइसकेको छ ।