नेपालको विकास र समृद्धिको नारा सबैले लगाउने गरेको भए पनि देशमा विकास र समृद्धिको महसुस हुन सकेको छैन । विशेषगरी आर्थिक विकासको हिसाबले मुलुक पछि परिरहेको छ । आयात र निर्यातबीचको बढ्दो खाडलका कारण मुलुकको अर्थतन्त्र डामाडोल बन्ने अवस्थामा छ । झण्डै सरकारको वार्षिक बजेट बराबरको वस्तु तथा सेवाको आयात भइरहेको र निर्यात् अत्यन्तै न्यून रहेको अवस्थामा भुक्तानी सन्तुलनमा समस्या हुने सम्भावना बढ्दै गएको छ । अहिले देशमा करिब ६ महिनाको आयात धान्ने विदेशी मुद्रामात्र सञ्चित रहनुले अर्थतन्त्र जुनसुकै समयमा धराशायी बन्ने सम्भावना देखाएको छ । सरकारले निर्यात घटाएर व्यापार घाटा कम गर्न केही विलासी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको भए पनि त्यसले आयात कम गर्न खासै सहयोग गरेको छैन । नेपालमा उत्पादन नहुने वस्तुको आयात स्वभाविक भए पनि देशमै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुसमेत खरबौं रुपैयाँको आयात गर्नुपर्दा हाम्रो देश परनिर्भर बन्दै गएको छ ।

नेपाललाई कृषिप्रधान देश भन्ने गरिन्छ । यहाँका करिब दुईतिहाइ मानिसहरुको मुख्य पेसा कृषिलाई मानिन्छ । त्यसैले देशको अर्थतन्त्रको मुख्य आधार भनेको नै कृषि हो । अहिले पनि देशको कुल गार्हस्थ उत्पादनको करिब एक चौथाई हिस्सामा कृषिको योगदान देखिन्छ । तर, जति कृषि उत्पादन हुनुपर्ने हो त्यो हुन सकेको छैन । देशको कृषि उत्पादनको अवस्था कमजोर बन्दै गइरहेको छ । विगतमा कृषिलाई निर्वाहमुखी भन्ने गरिएकोमा अहिले त कृषिबाट निर्वाहसम्म हुन नसक्ने अवस्था आएको छ । कृषि क्षेत्रबाट राम्रो उत्पादन नहुँदा दैनिक उपभोग्य कृषिजन्य उत्पादन विदेशबाट आयात गर्नु परिरहेको छ । कृषिउपजका लागि उपयुक्त जमिन छ, तर परम्परागत प्रणालीमा सुधार नहुँदा र उत्पादनशील जनशक्ति विदेश पलायन भइरहँदा कृषिमा कुनै प्रगति हुन सकेको छैन । सरकारले कृषि विकासका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन नसक्दा कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने सम्भावना न्यून हुँदै गएको छ ।

पहिला–पहिला नेपालबाट थुप्रै कृषिजन्य वस्तुहरु बाहिरी देशमा निर्यात हुने गर्दथ्यो । कृषि वस्तु आयात अत्यन्तै न्यून थियो । कम्तिमा खाद्यान्नमा हामी आत्मनिर्भर थियौं । तर, अहिलेको हाम्रो देशको कृषि उत्पादन वर्षेनि ह्रास हुँदै गइरहेको छ । युवाहरु विदेशिने क्रमले कृषिमा आवश्यक जनशक्तिको अभावले खेतीयोग्य जमिन बाँझो बनिरहेको छ । कृषिमा अझै परम्परागत प्रविधिको प्रयोग भइरहेको छ । सिँचाइको कमी, कृषि प्राविधिकहरु नहुनु, उन्नत बीउबिजनको कमी, समयमा रासायनिक मलको अभाव, जमिनको उर्वरतामा आइरहेको ह्रासलगायतका कारणले कृषिमा लगानीसमेत उठ्न नसक्ने अवस्था नेपालको कृषि क्षेत्रले झेलिरहेको छ । त्यसमाथि बिचौलियाहरुको हस्तक्षेप र ठगीको मार किसानहरुले व्यहोर्दै आइरहेका छन् । देशको कृषि व्यवस्थालाई उत्पादनशील बनाउन कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्नेतर्फ सरकारले उपयुक्त नीति, कार्यक्रम तथा योजना बनाइ प्रभावकारी कार्यान्वयन गर्न सक्नुपर्छ ।

कृषि क्षेत्रको विकास नभई हाम्रो आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन । कृषिलाई समृद्धिको मुख्य आधार मानेर सरकारले यसको विकासमा प्रर्याप्त ध्यान दिन जरुरी छ । यसका लागि युवा जनशक्तिलाई विदेशिनबाट रोक्न आवश्यक छ । स्वदेशमै व्यावसायिक कृषिलाई प्रोत्साहन गरी विदेशिएका युवालाई स्वदेश फर्काउन सरकार गम्भीर बन्नुपर्छ । कृषिमा आधारित अर्थतन्त्रलाई सबल बनाउन भूमि व्यवस्थापन र कृषि क्रान्ति आवश्यक छ । कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ । कृषिमा परनिर्भरताको अन्त्य नगरी हामी समृद्धिमा अघि लम्किन सक्दनौं । कृषिमा भित्रिएका नवीनतम प्रविधि उपयोगका लागि कृषकलाई सहुलियत ऋण तथा अनुदानको व्यवस्था, कृषिबिमाको प्रभावकारी कार्यान्वयन, कृषि प्राविधिकको सेवा विस्तार, उत्पादित सामग्रीको सहज बजार व्यवस्थालगायत बीउबिजन, रासायनिक मल र सिँचाइको समस्या समाधानमा सरकारको ध्यान जानुपर्छ ।